Logo

७ दलीय गठबन्धन राष्ट्रपतिको निर्वाचनसम्म एक ठाउँमा रहँदैन् : सिके राउत (भिडिओसहित)



काठमाडौं, ६ माघ । जनमत पार्टीका अध्यक्ष एवम् सांसद डा. सिके राउतले राष्ट्रपतिको निर्वाचनसम्म पुग्दा अहिलेको सत्ता गठबन्धन टुट्ने सनसनीपूर्ण खुलासा गरेका छन् । आजसम्म आफूहरु सत्ता पक्षमा रहेकाले नैतिक रुपमा सभामुखमा एमालेका उम्मेदवार देवराज घिमिरेलाई मतदान गरेको स्पष्ट पारे । उनले नेपाली राजनीतिमा नैतिकता भन्ने कुरा हराएको पनि गुनासो पोखे । उनले अब के हुन्छ ? भन्ने कुरा रातारात भन्दापनि घण्टा हुँदै सेकेण्डमा परिस्थिति बदलिने गरेको सुनाए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रपतिको निर्वाचनसम्म सात दलीय गठबन्धन एक ठाउँमा नहरने ठोकुवा गरे । उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई कांग्रेसले विश्वासको मत दिएसँगै राजनीतिमा सबै सम्भावना देखिएको बताए ।

राउतले आफ्नो दलले सुरुमै काम गर्ने मन्त्रालय मागेको र यसमा प्रधानमन्त्री पुष्पकमल दाहालले सहमति जनाएपनि अन्तिममा उक्त सहमति पालना नगरेको गुनासो पोखे । उनले भने,‘अब कामै नलाग्ने चार वटा मन्त्रालय दिएपनि हामीलाई के काम ? हामी त काम गरेर देखाउन चाहन्छौं । हामीसँग विज्ञ टोली छ । अहिले टिममा काम भैरहेको थियो ।’ उनले अब कति वटा मन्त्रालय लिएर सरकारमा जाने वा सरकारबाट बाहिरिने कुरामा पार्टीभित्र छलफल हुने र निर्णयमा पुगिने बताए । उनले आफूहरु जतिखेर पनि सरकारबाट बाहिरिन सक्ने जनाए ।



प्रतिक्रिया दिनुहोस्