काठमाडौं, ६ माघ । प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु राष्ट्रपति कसलाई बनाउने भन्नेबारे गृहकार्यमा जुटेका छन् । सरकारको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिमा सबैलाई स्विकार्य हुने व्यक्ति अघि सार्नुपर्छ भनेर लविङमा लागेसँगै सत्ता गठबन्धनमा खटपट सुरु भएको चर्चा छ । खासगरी प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एमालेसँग राष्ट्रपतिबारे सहमति गरिसकेका छन् ।
१० पुषमा प्रधानमन्त्रीमा दाबी गर्न शितलनिवास जानुअघि बहुमत जुटाउने बेलामा प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । सो छलफलमा प्रधानमन्त्रीमा माओवादी र एमालेले आलोपालो गर्ने, सभामुखमा पनि दुई दलबीच आलोपालोको सहमति छ । त्यस्तै, राष्ट्रपति एमालेले, उपराष्ट्रपति माओवादीले लिने सहमति छ । उपसभामुख भने रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले लिने सहमति भएको छ । उक्त सहमतिअनुसार प्रचण्ड प्रधानमन्त्री भैसकेका छन् । सभामुखमा पनि एमालेका देवराज घिमिरे निर्वाचित भैसकेका छन् ।
आज उपसभामुखको लागि मनोनयन दर्ता हुँदैछ । सत्ता गठबन्धनबाट रास्वपाकी इन्दिरा राना उम्मेदवार हुँदैछिन् । माघ अन्तिममा राष्ट्रपतिको निर्वाचन हुँदैछ । तर, अहिलेदेखि नै राजनीति गरमागरमको अवस्थामा पुगेको छ । खासगरी प्रचण्ड एमालेलाई कुनैपनि हालतमा राष्ट्रपति दिनुहुँदैन भन्ने दबाबमा पुगेका छन् । उनलाई पार्टीभित्रैबाट यो दबाब सिर्जना भएको बुझिएको छ । २६ पुषमा कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएसँगै राष्ट्रपतिको निर्वाचनमा कांग्रेसले भाग खोज्ने अड्कलबाजी सुरु भएको छ ।
प्रधानमन्त्री दाहालले पनि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा समझदारीबाट अघि बढ्ने बताएका छन् । प्रचण्ड एमालेसँग गरेको सहमतिबाट पछि हटेर कांग्रेसलाई बोक्ने पक्षमा पुगेको भन्ने एमाले वृत्तमा चर्चा छ । कांग्रेस नेतृत्व पनि राष्ट्रपतिको निर्वाचनसम्म पुग्दा माओवादीले आफूहरुलाई साथ दिने विश्वासमा छ । हिजो सभामुखको निर्वाचन सकिएपछि बाहिरिने क्रममा महामन्त्री विश्वप्रकाश शर्माले पनि राष्ट्रपतिमा कांग्रेसले उठाएको उम्मेदवारले चुनाव जित्ने ठोकुवा गरेका छन् ।
उता, जनमत पार्टीका सिके राउत पनि राष्ट्रपतिको निर्वाचनसम्म पुग्दा अहिलेको सत्ता गठबन्धन भत्किने टिप्पणी गर्छन् । विशेष सूत्रकाअनुसार कांग्रेसले राष्ट्रपतिमा लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई अघि बढाउन चाहेको छ । ठाकुरको नाममा राष्ट्रिय सहमति कायम गर्न सजिलो हुने कांग्रेसको बुझाई छ । प्रधानमन्त्री दाहालले पनि ठाकुरलाई अघि बढाउँदा सहमति कायम हुने विश्वास लिएका छन् ।
अहिले मन्त्रिपरिषद्लाई पूर्णता दिने क्रममा मधेशी र थारुहरुलाई बाइपास गरिएको आरोप प्रचण्डमाथि छ । ठाकुरलाई राष्ट्रपति बनाईए सिंगो मधेशलाई न्याय हुने कांग्रेस र माओवादीको बुझाई छ । राष्ट्रपतिको निर्वाचनमा ठाकुर उम्मेदवार भए सिंगो मधेशवादी दल एक ठाउँमा उभिने वातावरण पनि बन्नेछ । एमालेले भने कुनैपनि हालतमा एमालेकै उम्मेदवारमा सहमति खोजिनुपर्ने अडान लिएको छ । कसले कसलाई धोका दिने हो ? भन्नेबारे अब यही माघभित्र सबै छर्लङ् हुन्छ ।




प्रतिक्रिया