काठमाडौं, माघ ७। चालू आर्थिक वर्षको छ महिनामा (साउन–पुस)सम्ममा स्वदेशी लगानीका उद्योग दर्तामा कमी आएको छ ।
उद्योग विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आव २०७९/८० को पहिलो छ महिनामा १४५ उद्योगमार्फत एक खर्ब ३९ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १५५ उद्योगमार्फत एक खर्ब ९० अर्ब रुपैयाँ लगानी स्वीकृत भएको थियो । अघिल्लो अवधिको तुलनामा यो वर्ष ५१ अर्ब रुपैयाँ लगानी कमी हो ।
चालू आर्थिक वर्षमा अर्थतन्त्रमा देखिएको समस्याका कारण उद्योग दर्ता पनि घटेको विभागले जनाएको छ । विभागका अनुसार सो अवधिमा स्वदेशी लगानीमा ठूला उद्योग ३९, मझौला ४१ र साना उद्योग ६५ दर्ता भएको छ । ती उद्योगबाट नौ हजार ८१६ जनाले रोजगारी पाउने प्रस्ताव गरिएको छ । बजारमा तरलता अभाव, बैङ्कको उच्च ब्याजदरको कारण नयाँ उद्योग खोल्ने सङ्ख्या कम भएको हो ।
उद्योग विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पहिलो छ महिनामा १३१ परियोजनामार्फत १७ अर्ब ३० करोड रुपैयाँको प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता आएको छ ।
गत आर्थिक वर्षको सो अवधिमा १२९ परियोजनामार्फत ३० अर्ब ५६ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको थियो । विदेशी लगानी प्रतिबद्धता गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ अर्ब २६ करोड रुपैयाँ कमी हो । विश्वभर देखिएको आर्थिक सङ्कटका कारण विदेशी लगानी प्रतिबद्धता आधाले घटेको विभागले जनाएको छ ।
विदेशी लगानीमा दुई ठूला परियोजना, १९ मझौला र साना ११० वटा परियोजनामा लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । विदेशी लगानी प्रतिबद्धता सबैभन्दा धेरै सेवामूलक र पर्यटनमूलक परियोजनामा आएको छ । उत्पादनमूलक परियोजनामा १०, पर्यटनमूलक ५२, सेवामूलक ५९, सूचना प्रविधि सात, पूर्वाधार तीन परियोजनामा विदेशी लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।
अघिल्लो वर्षको तुुलनामा यो वर्ष विदेशी लगानीमा परियोजना स्वीकृत सङ्ख्या बढे पनि लगानी भने झन्डै आधाले घटेको छ । विदेशी लगानी प्रतिबद्धतामार्फत सात हजार ८४१ जनाले रोजगारी पाउने अनुुमान गरिएको छ । गोरखापत्र दैनिकबाट




प्रतिक्रिया