काठमाडौं, माघ ७ । प्रतिनिधिसभाको उपसभामुखका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट इन्दिरा राना मगरले उमेदवारी दिएकी छन्।
उनलाई नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थन छ। रास्वपाकी सोविता गौतमको प्रस्ताव र एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा, राप्रपाका राजेन्द्रप्रसाद लिङ्देनको समर्थनसहित रानाले शुक्रबार उम्मेदवारी दिएकी हुन्।
शुक्रबार दिउँसो सवा १ बजेर १५ मिनेटमा इन्दिराले उपसभामुखमा उम्मेदवारी दर्ता गरेकी हुन्। रास्वपा समानुपातिकतर्फ आदिवासी जनजाति कोटाबाट उनी सांसद बनेकी हुन्। उनी बिहीबार सभामुखमा निर्वाचित देवराज घिमिरेको गाउँ झापाको अर्जुनधारा नगरपालिकाकै स्थानीय हुन्।
५२ वर्षीया उनी यसअघि सामाजिक सेवामा थिइन्। सामाजिक सेवामा सक्रिय रहँदै आएकी उनी रवि लामिछानेको नेतृत्वमा रास्वपा गठन भएसँगै राजनीतिमा पनि होमिएकी हुन्। उनले सयौं अनाथ बालबालिकाको उद्धार गरेर चर्चा कमाएकी छन्।
सांसदबाहेक अन्य कुनै भूमिकामा इन्दिरा आउने चर्चा थिएन। उनको पार्टी रास्वपाले उपसभामुखमा सोबितालाई पठाउने तयारी गरेको थियो। तर पछि एकाएक रास्वपाको संसदीय दलले इन्दिरालाई उपसभामुख बनाउने निर्णय गरेको हो। उपसभामुखका लागि इन्दिरासँग नेपाली कांग्रेसकी सांसद मुक्ताकुमारी यादवले प्रतिस्पर्धा गर्दैछिन्। निर्धारित समय सकिनुभन्दा पाँच मिनेटअघि शुक्रबार उनले उम्मेदवारी दर्ता गरेकी हुन्।
धनुषाको सहिद नगरपालिका–१ स्थायी ठेगाना भएकी ४५ वर्षीया यादवको प्रस्तावकमा कांग्रेस सहमहामन्त्रीसमेत रहेका सांसद बद्रीप्रसाद पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादी (नेकपा एस) का मेटमणि चौधरी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद सर्वेन्द्रनाथ शुक्ला छन्।
शुक्रबार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले उपसभामुखमा उम्मेदवारी दिने निर्णय गर्दै प्रतिनिधिसभाको विपक्षी बेन्चका अन्य दलहरूसँगको परामर्शमा यादवलाई उम्मेदवारमा अघि सारेको हो।
उपसभामुख निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार दिउँसो १ देखि ४ बजेसम्मको समय उम्मेदवारी दर्ताका लागि तोकिएको थियो। उपसभामुखको निर्वाचनका लागि प्रतिनिधिसभाको बैठक शनिबार १ बजेका लागि बोलाइएको छ। नागरिक दैनिकबाट




प्रतिक्रिया