काठमाडौं, ७ माघ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । सो क्रममा अध्यक्ष दाहालले आफू सरकारको काममा व्यस्त भएकोले पार्टीलाई चलायमान बनाउन शर्मालाई निर्देशन दिएको बुझिएको छ ।
आज विहान बालुवाटारमा भएको छलफलमा पार्टीलाई सक्रिय बनाउने विषयमा छलफल भएको स्रोतको दाबी छ । पछिल्लो समय अध्यक्ष दाहाल सरकारको नेतृत्व गरेर सरकारमा सहभागी भएपछि पार्टी ठप्प भएको चर्चा उठ्न थालेको छ । उपमहासचिव वर्षमान पुन अस्वस्थ छन् । उनी हिजोमात्रै अस्पतालबाट डिस्चार्ज भएका छन् ।
उनको कलेजो प्रत्यारोपण गर्नुपर्ने भनिएको छ। पुन स्वास्थ्यलाभ गरेर घरमै छन् । अध्यक्ष प्रचण्डले शर्मालाई बोलाएर संगठनलाई सक्रिय बनाउन निर्देशन दिएका छन् । अहिले पनि शर्माले महाधिवेशनअघिको पार्टीको संगठन प्रमुखको हिसाबले गतिविधि गरिरहेका छन् ।
प्रचण्डले शर्मालाई बाबुराम भट्टराई नेतृत्वको नेकपा समाजवादी पार्टीसँग एकताका लागि गृहकार्य थाल्नपनि निर्देशन दिएका छन् । दुई दलबीचको एकताको लागि दुवै तर्फबाट वार्ता समिति गठन गरिएको छ । प्रचण्डले आज/भोलिभित्रै एकता प्रक्रिया टुँगो लगाउन भनेका छन् ।




प्रतिक्रिया