Logo

गुटको साझा धारणा बनाउँदै कोइराला



काठमाडौं, माघ ९ । नेपाली कांग्रेस संस्थापन इतर पक्षका नेताले एमालेको समर्थनमा प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आफ्नो पार्टीले विश्वासको मत दिएर गल्ती गरेको भन्दै १५औं महाधिवेशन तयारीमा जुट्नुपर्ने बताएका छन्।

संस्थापन इतर पक्षको आइतबार काठमाडौंमा आयोजित भेलामा नेताहरूले दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिनुको साटो पार्टी तटस्थ बसेको भए उचित हुने तर्क राखेका हुन्।

संस्थापन इतर पक्षका नेता शेखर कोइरालाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनुभन्दा तटस्थ बस्नुपर्ने प्रस्ताव पार्टी बैठकमा आफूले राखेको तर सुनुवाइ नभएको बताए।

प्रधानमन्त्री दाहाललाई कांग्रेसले विश्वासको मत दिएर गल्ती गरेको भन्दै कोइरालाले भेलामा भने, ‘तटस्थ बस्ने प्रस्ताव मैले कार्यसम्पादन समितिमा राखेको थिएँ, त्यसको सुनुवाइ भएन।’ पार्टीको बहुमत निर्णय मान्नुपर्ने अवस्थामा आफूहरू पुगेको धारणा राख्दै कोइरालाले अबका दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा निकट नेताहरूसँग सुझाव मागेको जानकारी भेलामा सहभागी एक नेताले दिए।

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिँदा कांग्रेस अहिले सत्ता पक्ष कि प्रतिपक्षी भन्ने प्रश्न उठेको बताउँदै भेलामा सहभागी नेताहरूले अहिले नेतृत्व सबैभन्दा धेरै दोधारमा रहेको तर्क गरेका थिए। सहभागीले संसदीय दलको निर्वाचनमा संस्थापन इतर पक्षले आफ्नो उम्मेदवार उठाए पनि यस खेमाका सबैको मत किन आएन भन्ने विषयमा खोजी गर्नुपर्ने धारणा पनि राखेका थिए।

विगतमा के भयो भन्नुभन्दा अब के गर्ने भन्ने निक्र्योल गर्नुपर्ने औल्याउँदै पार्टी उपसभापति धनराज गुरुङले अब १५औं महाधिवेशनको तयारीमा लाग्नुुपर्ने प्रस्ताव राखे। कांग्रेस १४औं महाधिवेशन भएको एक वर्ष मात्र पुगेकोे छ। महाधिवेशनपछि कांग्रेसका सबै निकायले पूर्णतासमेत पाइनसकेका बेलामा उपसभापति गुरुङले १५औं महाधिवेशनको तयारीमा जुट्न ढिला गर्न नहुने धारणा राखेका हुन्। भावी सभापतिका रूपमा शेखर कोइरालाको नाम अघि सार्दै उनले भने, ‘तयारी ढिला हुँदा धेरै साथीले इच्छा गर्नुहुन्छ। मेरो पनि इच्छा हुन सक्छ।’

इतर पक्षबाट कांग्रेस संसदीय दलको निर्वाचनका बेला महामन्त्री गगनकुमार थापालाई उम्मेदवार बनाउने र कोइरालालाई १५औं महाधिवेशनमा सभापति बनाउन सबैले सहयोग गर्ने समझदारी बनेको नेताहरूले बताउँदै आएका छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot