Logo

राष्ट्रिय वाणिज्य बैंकलाई नयाँपन दिन ८ सय ३६ कर्मचारी भर्ना गरेका छौंः सीईओ श्रेष्ठ



काठमाडौं, १० माघ । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठ ५८ औं वार्षिकोत्सव मनाइरहँदा बैंक प्रशस्त जनविश्वास आर्जन गर्न सफल भएको बताएका छन् ।
‘यो सरकारको पूर्ण स्वामित्वको एक मात्र बैंक हो । सातै प्रदेश र ७७ जिल्लाका सुगमदेखि दुर्गम ग्रामीण भेग क्षेत्रमा यसको बैंकिङ पहुँच छ । हामीले मुख्यतः तीन क्षेत्रमा लगानी गरेका छन् । कृषिमा हाम्रो १५ प्रतिशत लगानी छ । जलविद्युत् र पर्यटनका पूर्वाधारमा पनि राम्रो लगानी भएका छन् । यसबाहेक साना तथा मझौला व्यवसायमा पनि कर्जा कारोबार छ । अन्य बैंकभन्दा आधार दर न्यून भएकाले यसबाट नेपाली उद्यमी, व्यवसायी र कृषकले प्रशस्त लाभ पाएका छन्,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सीईओ श्रेष्ठले भने ।
सबैभन्दा पुरानो र सरकारी बैंक भए पनि यसवर्षको मुनाफा १२ प्रतिशतमा सीमित भएको उनले बताए । श्रेष्ठले थपे, ‘गत वर्षको तुलनामा यस वर्षको मुनाफा बढी हुन सकेन । यो वर्ष निक्षेप संकलन अभाव भयो । महँगो ब्याजदरमा निक्षेप लिनुपर्यो । मुद्दतीमा १३ प्रतिशतसम्म पर्‍यो । नेपाल राष्ट्र बैंकले स्प्रेड दर ४.४ बाट तल झारेकाले पनि यस वर्ष ऋणप्रवाह योग्य फन्ड पर्याप्त हुन सकेन । त्यस कारण वाणिज्य बैंकतर्फ हामी मुनाफामा दोस्रो स्थानमा रह्यौं ।’
निजी वा संयुक्त लगानीका बैंकभन्दा सेवा, ब्याजदर र पहुँचमा कम हुन नदिने गरी काम गरिरहेको पनि उनले औंल्याए । श्रेष्ठले भने, ‘सरकारी बैंक वा वित्तीय निकायका सम्बन्धमा नेगेटिभ ट्यागलाइन छ । त्यसलाई हामी प्रविधिमैत्री बनाउने कोसिसमा छौं । ढड्डा प्रणाली (म्यानुअल) बाट अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयरमार्फत सेवा प्रवाह गर्नका लागि अन्तर्राष्ट्रिय टेन्डरमा जान लागेका छौं । निजी वा संयुक्त लगानीका अरु बैंकभन्दा सेवा, ब्याजदर, पहुँचमा कम हुन दिँदैनौं ।’
राष्ट्रिय वाणिज्य बैंकलाई नयाँपन दिन ८ सय ३६ नयाँ कर्मचारी भर्ना गरिएको पनि सीईओ श्रेष्ठले बताए । उनले भने, ‘बैंकिङ क्षेत्र निकै प्रतिस्पर्धात्मक छ । नयाँ जनशक्ति र नयाँ संस्कृति निर्माणका लागि हामीले ८ सय ३६ नयाँ कर्मचारी भर्ना गरेका छौं । यसबाट हामी छिटो, छरितो र स्तरीय सेवा दिन सक्षम हुनेछौं । यो हाम्रो प्रतिबद्धता पनि हो ।’
राष्ट्रिय वाणिज्य बैंक अरु बैंकभन्दा पृथक रहेको दाबी पनि उनले गरे । श्रेष्ठले भने, ‘स्वामित्वको दृष्टिकोणले हाम्रो बैंक फरक छ । सरकारको पूर्ण स्वामित्व भएकाले सरकारको नीति, कार्यक्रम अन्तर्गत रहेर काम गर्नुपर्छ । ग्रामीण इलााका, दूरदराजसम्म फैलिएको छ । ५० प्रतिशतभन्दा बढी लगानी साना तथा मझौला कर्जामा छ । ३८ लाख ५० हजार ग्राहक छन् ।’
ग्रामीण क्षेत्रमा स्वास्थ्य, शिक्षाका साथै वित्तीय साक्षरता र पहुँच पुर्याउने काम गरिरहेको पनि श्रेष्ठले बताए । उनले भने, ‘सामाजिक उत्तरदायित्व अन्तर्गत मुनाफाको १ प्रतिशत खर्च हुन्छ । सातै प्रदेशमा १०–१० प्रतिशत खर्च गरिरहेका छौं ।’ बैंकको ३० प्रतिशत सेयर सर्वसाधारणमा प्रवाह नभएको पनि उनले औंल्याए ।
सरकारी बैंकमा माथिको भनसुन या दबाब कत्ति आउँछ भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, स’रकारी बैंक भएकाले ऋण र ब्याज छुटका लागि दबाब आउँदै आउँदैन भन्न त मिल्दैन । अनुरोधका रुपमा मर्का परेको छ, एकपल्ट हेरिदिनोस्, छिटो गरिदिनुस् आदि भन्नु स्वाभाविक पनि हो । तर हामी नीति, नियम र प्रक्रियामा जान्छौं, कसैबाट प्रभावित भएर ऋण दिँदैनौं । ब्याज छुट दिँदैनौं । पारदर्शी ढंगले काम गर्छौं ।’



प्रतिक्रिया दिनुहोस्