Logo

चिसोबाट अफगानिस्तानमा १०४ जनाको मृत्यु



एजेन्सी । अफगानिस्तानमा गत दुई हप्तामा चिसो मौसम र कार्बन मोनोअक्साइड विषाक्तताका कारण १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । विभिन्न प्रान्तहरूमा गरेर १०४ जनाको मृत्यु भएको जनाइएको छ।

अफगानिस्तानको घोर प्रान्तका स्थानीय अब्दुल जाहिरले चिसो मौसमका कारण आफूले एक सन्तान गुमाएको र अहिले गम्भीर आर्थिक अवस्था झेलिरहेको बताएका छन् । ‘मेरा सबै बच्चाहरू बिरामी छन्। तिनीहरूमध्ये एकको मृत्यु भयो र अरू तीनजना अस्पतालमा छन्,’ उनले बताए।

आर्थिक अवस्था भएका परिवारहरू प्रायः यस मौसममा अत्यधिक चिसोको सिकार हुने गर्दछन्। फर्याब प्रान्तका बासिन्दा मोहम्मद अजिमले भने, ‘धेरै परिवारसँग खानेकुरा, पिउने पानी र अन्य आधारभूत कुराहरू पनि छैन।’

तालिबान नेतृत्वको सूचना तथा संस्कृति मन्त्रालयको तथ्याङ्क अनुसार विगत दुई हप्तामा चिसोका कारण दशौं हजार गाईवस्तु मरेका छन् । अफगानिस्तानको हेरात प्रान्तमा कार्बन मोनोअक्साइड विषाक्तताका कारण कम्तिमा १४० जनालाई अस्पतालमा भर्ना गरिएको छ। अस्पतालमा भर्ना हुनेमा बालबालिका र महिला धेरै छन् ।

हेरातका बासिन्दाहरूले कडा जाडोमा घर न्यानो पार्न प्रयोग हुने ग्यास र दाउराको मूल्य बढेको गुनासो गरेका छन्। गत २४ घण्टामा अस्पतालको आपतकालीन वार्डमा १३० देखि १४० जना बिरामी ल्याइएको छ।

तापक्रममा अचानक आएको गिरावटले समस्याग्रस्त देशमा गरिबी र खाद्यान्न र इन्धनको अभावबाट ग्रस्त भएका मानिसहरूलाई अझ नराम्ररी असर गरेको छ। रासस



प्रतिक्रिया दिनुहोस्