Logo

देश बनाउने हुटहुटी त सबैमा छ, त्यसका लागि काम गर्नुपर्‍यो नि !- सुदन किराँती (भिडियोसहित)



काठमाडौं, १० माघ । संस्कृतिक, पर्यटन तथा नागरिक उड्यानमन्त्री सुदन किराँतीले पोखरा विमान दुर्घटनाको छानविनमा सहयोग गर्न मन्त्रालय लागि परेको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपालको आकाशलाई कसरी सुरक्षित बनाउन सकिन्छ भनेर आफू लागि परेको बताएका हुन् । ‘कतिपय प्रविधिक कुरा हामीलाई थाहा हुँदैन । त्यो कुरा प्रविधिकले पत्ता लगाउने हो । दुर्घटना नै नभएको दुनिया त काही पनि छैन् । हवाइ दुर्घटनाका घटनाहरु त विश्वमै छ । तर, हामीले ति सारा घटनाबाट सिकेर नेपालको आकाशलाई सुरक्षित बनाउन, सबैलाई विश्वास दिलाउन, धेरै भन्दा धेरै पर्यटक भित्र्याउन, पर्यटनद्वारा देशमा अर्थतन्त्रको विकास गर्न अरु देशमा पनि दुर्घटना हुन्छ भनेर भएन । हामीले त राम्रो गर्नु पर्छ,’ उनले भने ।

नेपालमा हवाइमात्रै नभएर सडक दुर्घटनामा पनि वर्षेनी हजारौंको ज्यान जाने गरेको भन्दै यस्ता घटनाबाट शिक्षा लिनु आवश्यक रहेको उनले औंल्याएका छन् । अहिले आफू नितिको सुधारमा लागि काम गरिरहेको र छिट्टै यसलाई व्यवस्थित बनाउने उनको दाबी छ । विगतमा जिम्मेवार निकायले सन्तोषजनक काम गर्न सक्नुको परिणाम अहिले देखापरिरहेको बताउँदै उनले हिजो के भयो भन्दा पनि निगममा आज राम्रो हुन पर्छ भनेर आफू लागिरहेको बताए । मान्छे मरेर गएपनि काम नमर्ने भन्दै उनले आबका दिनमा आफूलाई परिणाममा आधारित काम चाहिएको र सोही अनुसार निर्देशन र नियमन पनि भइरहेको बताए । ‘मलाई त काम चाहिन्छ, अर्को छुट छैन । हिजो के भयो मलाई त्यो नसोध्नुस्, आजदेखि राम्रो हुनुपर्‍यो । यो निगमको र हाम्रो जीवनको पनि अन्तिम स्टेसन हुनसक्छ । मैले साथीहरुलाई भनेको छु– तपाई पनि मर्नु हुन्छ, म पनि मर्छु । नमर्ने भनको काम हो । त्यसमाथि पर्यटन र उड्यानमात्रै छैन यहाँ संस्कृति पनि जोडिएको छ । हामीले संस्कृति पनि निर्माण गर्नुछ । विचारबाट व्यवहार आउँछ, व्यवहारबाट संस्कृति निर्माण गर्छ । त्यसकारण हामी काम गरौं । देश बनाउने भन्ने हुटहुटी सबैमा छ । देश बनाउन त काम गर्नु पर्‍यो नि,’ उनले भने ।

नेपालमा अहिले बनेका एयरपोर्ट अन्तराष्ट्रिय मापदण्ड अनुसार भए नभएको आफू त्यसमा अनुमानको भरमा टिप्पणी नगर्ने भन्दै उनले यस विषयमा विज्ञ प्रविधिकले तयार गरेको रिपोर्टका आधारमा आफू अगाडि बढ्ने उनले बताए । नेपाल वायुसेवा निगममा अनुगमन गरी निर्देशन भएको सन्दर्भ उल्लेख गर्दै उनले भने– ‘वायु सेवा निगमको आज ब्रिफिङ र निर्देशन थियो पहिला–पहिला यो वायुसेवा निगममा जागिर खानेसँग मान्छेले छोरी दिन होडबाजी गर्थे । तर, आज किन नाक थुनेर हिड्दै छन् । त्यही मान्छे र संस्था होइन ? मैले भनेको छु ।’

साथै, आगामी सात दिनभित्रमा नेपाल वायुसेवा निगममा ई–टिकेटिङ प्रणाली लागू गर्न निर्देशन भएको उनले बताए । अनलाइन प्रणाली सुरु हुनुपर्ने बताउँदै यस विषयमा निगमका पदाधिकारी पनि सकारात्मक नै रहेको उनको दाबी छ ।नेपालमा हवाइ क्षेत्रका कम्पनीले राम्रो काम नगरेको लक्षित गर्दै उनले निजि कम्पनीले नाफा चाहिँ कमाएको बताए । अहिले हवाइ क्षेत्रमा देखिएका समस्या सुधारमा आफू लागि परेको उनले बताए । समयको ख्याल नगरेको खण्डमा युद्धमा लडाई हारिने प्रसंग जोड्दै उनले नेपाली समयको पनि सदुपयोग गर्न हवाइ कम्पनीहरु सजग हुनुपर्ने उनले बताए । भ्रष्टाचार, अशिक्षा र गरिबी हाम्रो सबैभन्दा ठूलो शत्रुभएको बताउँदै उनले आफू भ्रष्टाचार नगर्ने र अरुलाई पनि छुट नदिने उनले बताए ।

 



प्रतिक्रिया दिनुहोस्