Logo

प्रज्ञाको पुस्तक प्रदर्शनीको म्याद पाँच दिन थप



नेपाल प्रज्ञा प्रतिष्ठानले ३०१औँ पृथ्वीजयन्तीका अवसरमा आयोजना गरेको पुस्तक प्रदर्शनीमा पाठकको रुचि बढेपछि पाँच दिन थप गरिने भएको छ । पठन संस्कृतिको विकासका लागि प्रतिष्ठानको भानुभक्त कक्षमा गत पुस २६ गतेदेखि पुस्तक प्रदर्शनी भइरहेको छ ।

कुल १५ दिनका लागि तय गरिएको प्रदर्शनीको अवधि बुधबार सकिन लागेकामा १६ गते शहीद दिवससम्म समय थप गरिएको हो । प्रदर्शनीमा प्रज्ञाले २०३० सालदेखि २०७९ को पुस महिनासम्म प्रकाशन गरेका पुस्तक बिक्रीमा राखिएको प्रतिष्ठानका व्यवस्थापक सुधीर ढुङ्गेलले जानकारी दिनुभयो । प्रदर्शनीमा रू तीनदेखि रू दुई हजार २०७० सम्म मूल्यका पुस्तक प्रदर्शनीमा राखिएको छ ।

प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद र दर्शनलगायत विषयसँग सम्बन्धित पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य, थायभू, आँगनलगायतका धेरै विषयका पठनीय एवं अति उपयोगी करिब ५०० भन्दा बढी प्रकारका पुस्तक एवं पत्रपत्रिका समावेश गरिएको छ ।

नेपाली वृहत् शब्दकोश र प्रज्ञा नेपाली अङ्ग्रेजी शब्दकोशलगायत शब्दकोशमा १५ प्रतिशत छुटको व्यवस्था छ । प्रतिष्ठानबाट सुरु प्रकाशन भएदेखि २०७९ सालसम्मका पुस्तकमा ४० प्रतिशतसम्म छुटको व्यवस्था रहेको जानकारी पनि उहाँले दिनुभयो ।

माटोको ममता, महेन्द्र प्रवचन माला जस्ता रू तीनदेखि नेपाली वृहत् शब्दकोशको रू एक हजार आठ सय ९५ सम्मका पुस्तक प्रदर्शनीमा राखिएको उहाँले बताउनुभयो ।

प्रदर्शनीमा साहित्यमा अनुसन्धान गरिरहेका विद्यार्थी बढी पुस्तक किन्न आउने गरेको प्रतिष्ठानले जनाएको छ । प्रज्ञाले वर्षमा कम्तीमा तीन पटक–पुस्तक प्रदर्शनी आयोजना गर्ने गरेको छ । पृथ्वी जयन्तीको अवसर पारेर पुस महिना, नयाँ वर्षको अवसर पारेर वैशाख र प्रतिष्ठानको वार्षिकोत्सवको अवसर पारेर असार महिनामा प्रदर्शनी आयोजना हुने गरेको छ ।

प्रदर्शनीमा बाल साहित्यका पनि धेरै पुस्तक बिक्री हुने गरेको छ । दैनिक तीन सयभन्दा बढी पाठकले प्रदर्शनी अवलोकन गर्न आउने गरेका छन् । पुस्तक प्रदर्शनीका क्रममा दैनिक रू २० हजार बराबरको पुस्तक बिक्री हुने गरेको समेत व्यवस्थापक ढुङ्गेलले बताउनुभयो । प्रज्ञाबाट प्रकाशित पुस्तक विशेष भएकाले साझा प्रकाशन र निजी प्रकाशनमार्फत् सातै प्रदेशमा पु¥याएर प्रज्ञाको गरिमा बढाउन लागिएको जनाइएको छ ।

हरेक नेपालीको हातमा प्रज्ञाका पुस्तक पु¥याउने अभियानका रुपमा पनि प्रदर्शनीलाई अघि बढाइएको हो । यसपटको प्रदर्शनीमा हालै प्रतिष्ठानले प्रकाशन गरेका डा षडानन्द पौडेलले लेख्नुभएको ‘नेपाली आख्यानमा अमूर्त संस्कृति’, प्राडा हेमनाथ पौडेलको ‘रमेश विकलका प्रतिनिधि कथा’, निनु चापागाइँको ‘रचना विविध’, अनुवादक र सम्पादक राजेश्वर नेपाली रहनुभएको ‘सोमली र सुहागिन’, अनुवादक र सम्पादक हरिहर खनाल रहनुभएको ‘ओभरकोट र अरु कथाहरु’लगायत पुस्तक राखिएको छ ।

प्रदर्शनीमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र साझा प्रकाशनका पुस्तक पनि राखिएको छ । यी प्रकाशनका पुस्तकमा पनि छुट रहेको जनाइएको छ । प्रदर्शनीमा जाडो बिदामा रहेका बालबालिकाको समेत उल्लेख्य सहभागिता छ । रासस

 

 

 

 



प्रतिक्रिया दिनुहोस्