Logo

मधेशवादी दलहरुलाई एक हुन ऋषि धमलाको आग्रह, राष्ट्रपतिमा महन्थ ठाकुरलाई अघि सार्न सुझाव



काठमाडौं, १० माघ । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले स्वर्गीय गजेन्द्रनारायण सिंह देशको परिवर्तनको लागि लडेको नेता भन्दै उनको योगदानको मुक्तकण्ठले प्रशंसा गरेका छन् । उनले भने,‘आज गजेन्द्रनारायण सिंहलाई सम्पूर्ण नेपालीहरुले सम्झिरहनुपर्छ । किनभने यो देशको समग्र विकास र प्रगतिमा र अधिकार प्राप्तिको लागि उहाँको महत्वपूर्ण भूमिका थियो ।’

आज (मंगलबार) गजेन्द्र नारायण सिंह अध्ययन केन्द्रद्धारा आयोजित ‘समसामयिक राजनीतिक परिस्थिति र गजेन्द्र बाबु’ विषयक विचार विमर्श कार्यक्रममा सम्बोधन गर्दै धमलाले यस्तो बताएका हुन् । धमलाले सिंहको कारण मधेशी जनताले अधिकार पाएको र संघीयता ल्याउनको लागि पनि भूमिका खेलेको स्मरण गराए । उनले सिंह आफ्नो भाषा, भूमि र जनताप्रति बफादार रहेको पनि सुनाए ।

‘उहाँ राजनेता हुनुहुन्थ्यो । तपाईँहरु स्वर्गीय सिंहलाई उच्च सम्मान गर्नुहुन्छ भने सबै एक हुनुपर्छ । अब टुक्रा–टुक्रा भएर काम छैन् । मधेशको विकास चाहने हो भने मधेशको धर्तीपुत्र महन्थ ठाकुरलाई राष्ट्रपति बनाउनुहोस ।’–धमलाको भनाई थियो ।

उनले ठाकुरलाई राष्ट्रपति बनाउन प्रमुख दलहरुसँग छलफल गर्नपनि मधेशवादी दलका नेताहरुलाई सुझाए । उनले भने,‘अब महन्थ ठाकुरलाई राष्ट्रपति बनाउनुहोस, उहाँ विशाल व्यक्तित्व भएको व्यक्ति हो । तपाईँहरुले हिम्मत गर्नुहोस । अब मधेशबाट राष्ट्रपति बनाउनुहोस । पहाड (गोरखाबाट) प्रचण्ड प्रधानमन्त्री बन्नुभयो, झापाका देवराज घिमिरे सभामुख हुनुभयो, अब राष्ट्रपति मधेशबाट बनाउनुहोस ।’

धमलाले मधेशको छोरो देशको प्रधानमन्त्री नबनेसम्म देशको विकास नहुने पनि बताए । उनले आफूले राजनीति राजनीति सुरु गरे मधेशबाट नै गर्ने घोषणा गरे । उनले मधेशका जनता राष्ट्रवादी भएको पनि बताए ।

यस्तो छ धमलाको सम्बोधन



प्रतिक्रिया दिनुहोस्