Logo

पाँच कम्युनिस्ट पार्टीबीच एकीकरणका लागि तीव्र छलफल



काठमाडौं, माघ ११ । विभिन्न समूहमा विभाजित पाँच कम्युनिस्ट पार्टीबीच एकीकरणका लागि छलफल तीव्र पारिएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल (जसपा) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)बीच एकीकरण छलफल तीव्र बनेको हो ।

नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा)बीच एकीकरण विषय टुंगो लागिसकेको छ । माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादी तीनै पार्टीले एकीकरणका लागि वार्ता टोली गठन गरेर छलफल थालेका छन् । तीनै पार्टीले एकअर्काको दस्तावेज लिएर अध्ययनसमेत गरिरहेका छन् ।

जसपासँग एकीकरणका लागि छलफल गरेको एकीकृत समाजवादीले माओवादी केन्द्रसँग पनि छलफल थालेको छ । तीनै पार्टीबीच छुटाछुटै छलफल भएको छ ।

जसपा र एकीकृत समाजवादीबीच विभिन्न चरणमा छलफल भइसकेको छ । अहिले दुवै पार्टीको वार्ता टोलीमा रहेका नेताले एकअर्काको दस्तावेज अध्ययन गरिरहेका छन् ।

उता, एकीकृत समाजवादी माओवादी केन्द्रसँग समेत एकीकरणका लागि दस्तावेज अध्ययन गरिरहेका छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीबीच स्थानीय निर्वाचनपछि एकीकरणका लागि वार्ता टोली गठन गरेर छलफल भएको थियो । तर, संघीय र प्रदेशसभा निर्वाचनमा जुटेकाले एकीकरण प्रक्रिया रोकिएको थियो ।

नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, आजपा र नेसपा प्रतिनिधिसभा ५५ सिटसहित शक्तिशाली दल बन्ने रणनीतिमा निर्वाचनअघि नै माओवादी केन्द्र र डा बाबुराम भट्टराई नेतृत्वको नेसपाबीच एकीकरण सहमति भइसकेको छ । सो सहमतिअनुसार नेसपाका नेता माओवादी केन्द्रको चुनाव चिह्न र घोषणापत्र लिएर निर्वाचनमा सहभागी भए । केही दिनभित्रै दुवै पार्टी एकीकरणको औपचारिक घोषणा तयारीमा छन् ।

तर, सो एकीकरणअघि अन्य दलबीचसमेत सहमति जुटाएर एकै चरणमा एकीकरण घोषणा तयारीमा शीर्षनेता छन् । विभिन्न चरणमा पार्टी एकताका लागि जुटेका दलले प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)लाई समेत एकीकरण प्रक्रियामा सहभागिता लागि पहल थालेका छन् । आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्