Logo

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा आजबाट सुनुवाइ



काठमाडौं, माघ ११ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद सम्बन्धि मुद्दामा आजबाट अन्तिम सुनुवाइ सुरू हुँदैछ ।

लामिछानेले अमेरिकाको नागरिकता लिँदा नेपाली नागरिकता कायम रहे नरहेको वा अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिन फेरि आवेदन दिनुपर्ने नपर्ने विषयमा सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाई हुनेछ ।

पुस २२ मा संवैधानिक इजलासले नागरिकता मुद्दामा अग्राधिकार प्रदान गरेर २०७९ माघ ११ मा पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश गरेको थियो ।

अमेरिका बस्दा त्यहाँको नागरिकता लिएका लामिछानेले नेपाल आएर सञ्चारकर्म गरिरहँदा विवाद भएपछि अमेरिकी नागरिकता त्यागेका थिए । अमेरिकी नागरिकता त्यागेपछि फेरि नेपाली नागरिकता कायम गर्ने प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।

रिटमा लामिछानेलाई सांसदको रूपमा सपथ नखुवाउन माग दाबी गरिएको थियो। दोहोरो नागरिकता प्रकरणमा मुछिएपछि लामिछाने विवादित बन्दै आएका छन्।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत रहेका छन्।



प्रतिक्रिया दिनुहोस्