Logo

गृहमन्त्री रवि लामिछानेबाटै कानुनी राज्यको चरम उपहास भयोः कांग्रेस प्रवक्ता



काठमाडौं, ११ माघ । नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद प्रकाशशरण महतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कानुनी राज्यको उपहास गरेको आरोप लगाएका छन् ।
‘नेपाली कांग्रेस रवि लामिछानेको पक्ष वा विपक्षमा होइन । कानुनी राज्यको पक्षमा छ । कानुनभन्दा माथि कोही पनि छैन । उहाँलाई सजाय दिने हो कि न्याय दिने, त्यो अदालतको कुरा हो । किनभने कानुनमा जे व्यवस्था छ, त्यसको रक्षा गर्ने जिम्मेवारी अदालतको हो । उहाँ स्वार्थ बाझिएको मन्त्रालयको नेतृत्व गर्न किन उत्सुक हुनुभयो ? प्रहरीबाट उहाँको बारेमा कसरी निष्पक्ष कसरी छानबिन हुन्छ ? गृहमन्त्रीबाटै कानुनी राज्यको चरम उपहास भएको छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै महतले भने ।
कांग्रेस प्रवक्ता महतले सत्ता गठबन्धनका नेताले संसदमा हत्याका अभियुक्तको पक्ष लिएर कानुनलाई ठाडो चुनौती दिएको आरोप पनि लगाए । महतले भने, गठबन्धनको एक नेता रघुवीर महासेठले उच्च अदालतले दोषी ठहराएको मानिसको पक्षमा २०, २२ मिनेट लामो भाषण गरेर कानुनलाई खुलेआम चुनौती दिनुभयो । यसले आगामी दिनमा संविधान र कानुनको अझ उपहास हुँदै जाने संकेत गरेको छ ।
संविधानको रक्षा र सहमति निर्माण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भूमिका अपरिहार्य रहेको पनि उनले औंल्याए । महतले थपे, प्रचण्डले अधिकतम सहमति गर्छु, संविधानको पक्षमा उभिन्छु भनेकाले हामीले विश्वासको मत दिएका हौं । उहाँले बोले अनुसार गर्नुहुन्छ कि गर्नुहुन्न, त्यो समयले देखाउँछ । तर सहमति निर्माणमा प्रचण्डजीको ठूलो भूमिका हुन्छ । त्यसको पहिलो परीक्षण राष्ट्रपतिको निर्वाचनमा हुन्छ ।’ कांग्रेस राष्ट्रपति निर्वाचन समयमै हुनुपर्ने पक्षमा रहेको पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्