Logo

एमाले सचिवलाई धमलाको प्रश्न– हत्याराको बचाउ किन गर्नुभयो संसदमा ?



काठमाडौं, ११ माघ । नेकपा एमालेका सचिव एवं सांसद रघुवीर महासेठले फरार सांसद लक्ष्मी महतो कोइरीलाई हत्यारा भन्न नमिल्ने बताएका छन् ।
‘सांसद लक्ष्मी महतोलाई अहिले नै हत्यारा भन्न मिल्दैन । यसलाई अदालतले प्रमाणित गरेको छैन । जिल्ला अदालतले उहाँलाई सामान्य धरौटीमा छाडेको हो, उच्च अदालतले पुर्पक्षमा राखेर अनुसन्धान अघि बढाउने हो भनेको हो । असई थमन विकको हत्या दुःखद घटना हो । जसले गरेको हो, त्यो गल्ती हो । तर एक जनालाई हत्या गर्न लक्ष्मी महतो आउनुपर्ने जरुरी थियो ? उहाँलाई घटनास्थलमा कसले देखेको थियो ? उहाँ गौशालामा हुनुहुन्थ्यो, घटनास्थल त्योभन्दा धेरै बाट टाढा छ,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै महासेठले भने ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सांसद महतोलाई हत्यारा भनेकामा पनि उनले आपत्ति जनाए । महासेठले भने, ‘गृहमन्त्रीले कुन हैसियतले हत्यारा भन्न सक्नुहुन्छ ? अदालतबाट अन्तिम निर्णय नभएसम्म हत्यारा भन्न मिल्दैन । उहाँको प्रेस विज्ञप्ति नआएको भए हुन्थ्यो । लक्ष्मी महतो संसदमा आइरहनुभएको छ, तर केही दिनदेखि हाम्रो सम्पर्कमा हुनुहुन्न । उहाँलाई प्रहरीले समातेको छ भने सार्वजनिक गर्नुपर्यो छैन भने समातेको छैन भने कानुनी प्रक्रिया सुरु गर्नुपर्‍यो ।’
सांसद महतोलाई नेकपा एमालेले संरक्षण नगरेको पनि उनको दाबी छ । महासेठले भने,’एमालेले उहाँलाई समाउनै हुन्न भनेर भनेको छैन । यसमा एमाले र एमालेका नेताको बाधा अवरोध छैन । यहाँ कुन नेता जेल बसेको छैन ? मुद्दा लाग्नेबित्तिकै अपराधी हुन्छ ? गिरिजाबाबु, देउवाजीलाई मुद्दा लागेको थिएन ? गल्ती थियो भने उहाँलाई देउवा सरकारले विशिष्ट विभूषण किन दियो ? हिजो अपराधी नहुने, आज एमालेबाट निर्वाचित भएर आउँदा अपराधी हुने ? घटना भएको सात वर्ष भैसक्यो । अदालतले निर्णय गरेको तीन वर्षसम्म किन पक्राउ गरेन ?’



प्रतिक्रिया दिनुहोस्