Logo

आचार्यको आत्मदाहमा म दोषी छु : गृहमन्त्री लामिछाने



काठमाडौं, ११ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रबि लामिछानेले मंगलबार नयाँ बानेश्वरमा आत्मदाह गरेका प्रेम प्रसाद आचार्यको आत्मदाहको दोषी आफूपनि भएको बताएका छन्।

उनले फेसबुकमा स्टाटस लेख्दै उनको आत्मदाहमा आफूपनि दोषी रहेको बताएका छन्।

उनले लेखेका छन्, ‘एउटा नागरिकले आत्मदाह गर्नुपर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र। यस्तै परिस्थितिका कारण शान्त बिद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौं। मलाई थाहा छ, आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम हो। दु:ख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरुको आगमनलेसमेत तपाईंमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं, म दोषी छु। प्रेम आचार्य जी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईंमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नु होला। तपाईंको आत्माले चिर शान्ति पाओस् ,परिवारलाई यो पीडा सहने शक्ति मिलोस्।’

संघीय संसद् भवन नयाँ बानेश्वर अगाडि आत्मदाहको प्रयास गरेका आचार्यको उपचारको क्रममा निधन भएको थियो।

उनको आज बिहान ५ बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको हो।

 



प्रतिक्रिया दिनुहोस्