Logo

नागरिकको इच्छा एकातिर, हाम्रो कदम अर्कातिर भयो– ज्ञानेन्द्र शाही (भिडियोसहित)



काठमाडौं, ११ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीले जनताले दिएको मत अनुसारको काम नेतृत्वमा पुगेर पनि गर्न नसक्दा अहिले आलोचनको शिकार बन्नु परेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नागरिकको इच्छा एकातिर र राप्रपाको कदम अर्कातिर भएको बताएका हुन् । ‘अहिलेको व्यवस्थामा व्यापक परिवर्तन आवश्यक छ भन्ने धारणाका साथ जनताबाट हामीले मत पाएका हौं । जनताले मत दिएअनुसारको काम तत्काल देखाउन सकेका छैनौं । त्यही भएर हामी आलोचनाको शिकार बनिरहेका छौं । नागरिकको इच्छा एकातिर, हाम्रो कदम अर्कातिर भएर यस्तो भएको हो । यसलाई स्वभाविक ठान्नु पर्छ,’उनले भने ।

साथै, विक्रम पाण्डेलाई स्वार्थ बाझिने गरी मन्त्रालयको जिम्मेवारी दिनुमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन सबैभन्दा बढी जिम्मेवार रहेको उनको आरोप छ । पार्टी अध्यक्षले गरेको निर्णय आफूहरुले मानेको उनले बताए । पार्टीका १४ जना सांसद नै मन्त्रीको आकांक्षी हुँदा अहिलेको अवस्था आएको उनको दाबी छ । स्वार्थ बाझिने गरी मन्त्रालय पाउन नहुनेमा आफू सहमत रहेको उनले बताए । ‘जुन मान्छेले जुन काम गरिरहेको छ त्यो मान्छे त्यो मन्त्रालयमा जाने होइन । जसको जे काम छ त्यो मन्त्रालय दिँदा स्वार्थ बाझिने देखिन्छ । मन्त्री नै भएपनि अर्को मन्त्रालयमा जानुपथ्र्यो,’ उनले भने ।

साथै, विगतमा राप्रपामा सत्ताको नेतृत्व आउँदै गर्दा विभाजनको इतिहास रहेको भन्दै उनले अहिलेको राप्रपामा त्यस्तो कुनै लक्षण नभएको बताए । अहिलेको सरकारमा कर्णालीबाट कुनै पार्टीले पनि मन्त्री नबनाएको भन्दै उनले आपत्ति जनाए ।अहिलेको सरकारमा चार जना उपप्रधानमन्त्री हुनु जायज नभएको उनको दाबी छ । ‘चारचार जना उपप्रधानमन्त्री के गर्न होला ? म पनि यही सोचिरहेको छु । यो सुशासनको दृष्टिले पनि ठीक होइन,’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्