Logo

गृहमन्त्री लामिछानेको मुद्दा हेर्दाहेर्दैमा



काठमाडौं, ११ माघ । गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद सम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाइको लागि पेशी तोकिएको लामिछानेको मुद्धाको अर्को सुनुवाइ शुक्रबार हुनेगरी हेर्दाहेर्दैमा राखिएको हो।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको इजलासमा रिट निवेदकका तर्फबाट पाँच जना अधिवक्ताले बहस गरेका थिए । अधिवक्ताहरु रविराज बसौला, रमन कर्ण, डा.सुरेन्द्र भण्डारी, अमृत खरेल, नीतिका ढुंगानाले रिट निवेदकका तर्फबाट बहस गरे । वरिष्ठ अधिवक्ता भण्डारीले गृहमन्त्री लामिछाने अहिले नेपाली मूलका विदेशी नागरिक भएको जिकिर गरेका थिए । अधिवक्ता भण्डारीले किरण गुप्ताको मुद्धा गृहमन्त्री लामिछानेको मुद्धासँग मिल्ने भन्दै सर्वोच्चमा नजीर प्रस्तुत गरेका थिए ।

त्यसैगरी, गृहमन्त्री लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुनिल पोखरेल र सुशील पन्तसहित सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बहस गरे । सहन्यायाधिवक्ता रेग्मीले गृहमन्त्री रबि लामिछानेको नागरिकता विवादमा रिट निवेदकलाई हकदैया नभएको जिकिर गरेका थिए । रिट निवेदकलाई उक्त मुद्धामा हकदैयाको अभाव भएको भन्दै उनले मुद्धा बदरभागी रहेको जिकिर प्रस्तुत गरेका थिए । बहस नसकिएकाले अर्को सुनुवाइ शुक्रबारका लागि तोकिएको हो ।

 

 

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्