Logo

सेनाको निगरानीमा रहेका जर्नेल प्रेम शाहीमाथिको छानविन जारी



काठमाडौं, ११ माघ। आर्थिक अनियमितताको आरोपमा नेपाली सेनाको निगरानीमा रहेका जर्नेल प्रेम शाही माथिको छानवीनको निश्कर्ष चाडै आउने नेपाली सेनाले जनाएको छ। सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले शाहीविरुद्ध परेका उजुरीमाथि सेनाको कोर्ट अफ इन्क्वायरीले जाँच गरिरहेको र त्यसले चाँडै आफ्नो प्रतिवेदन बुझाउने बताए।

नेपाली सेनाको इतिहासमै उच्च पदस्थ रथीबृन्दलाई निगरानीमा राखेर अनुसन्धान गरिएको यो दोस्रो घटना हो। शाहीविरुद्ध प्रधानमन्त्री कार्यालयमा २०७८ साल असोज ७ गते उजुरी परेको थियो। २२६५ नम्बरको दर्ता नम्बरमा परेको उजुरीमा शाहीले शक्तिमा रहदा आर्थिकसहितका अन्य अनियमितता गरेको उल्लेख छ। त्यस्तै सोही व्योहोराको उजुरी रक्षा मन्त्रालयमा २०७८ साल असोज ४ गते ९५५ र ९५६ दर्ता नम्बरमा दर्ता भएको छ। उजुरीमा उनीविरुद्ध आर्थिक अनियमितताका साथै शक्तिको दुरुपयोग गरेको उल्लेख छ।

आर्थिक अनियमितता जस्ता गम्भिर विषयमा उजुरी परेकाले शाहीलाई भित्रै राखेर छानवीन गर्नुपरेको सेनाको भनाई छ। पूर्व प्रधानसेनापति पूर्णचन्द्र थापाको सहयोगीका रुपमा शाही आफू सैनिक अस्पतालको प्रमुख रहदा आफूअनुकुलका निर्णय गर्न तत्कालिन जनशक्ति बाधक बनेपछि आफूनिकटलाई मातहत ल्याएका थिए। शाहीले नियमविपरित काम गरेपछि अस्पतालमा कार्यरत करिब ५० जनाले राजीनामा दिएका थिए। राजीनामा दिएका दक्ष प्राविधिक अहिले विभिन्न अन्य अस्पतालमा कार्यरत छन्। शाहीका कारण दक्ष जनशक्तिले छाउनी अस्पताल छोडेपछि अहिले पनि त्यहाँ प्राविधिकको समस्या रहेको अस्पताल स्रोतले जनाएको छ।

सैनिक अस्पतालमा रहदाँ औषधी खरिद, विभिन्न समानहरु खरिद र निर्माण कार्यमा चरम लापरवाही गरी ठूलो मात्रामा आर्थिक हिनामिना गरेको, विशेष फौज बाहिनीपति रहदा लक्ष्मी निवास भवनलाई पुर्ननिर्माण गर्दा भएको चरम आर्थिक अनियमितता र पूर्णचन्द्र थापाको सैनिक सहायकको नियुक्तिमा रहदाँ प्रधान सेनापतिको कार्यालय पुर्ननिर्माण गर्दा करिब तीन करोडको घोटला गरेको भनी तत्कालिन उपरथी सिताराम खड्काले प्रतिवेदन बुझाएपनि पूर्णचन्द्र थापाले कारबाही गरेका थिएनन्।

शक्तिको दुरुपयोगमार्फत शाहीले गरेको आर्थिक अनियमितताका सम्बन्धमा अहिले छानवीन भइरहेको छ। अनियमितताबाट आर्जित रकमबाट शाहीले कैलाली जिल्लाको बुढीतोला इलाकामा कालिज फार्म संचालन गरिएको, बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका-१८ बडहरर्वामा रेष्टुरेण्ट तथा कृषि फार्म संचालन गरेको उजुरीमा उल्लेख छ।

पूर्णचन्द्र थापाको कार्यकालमा शाही उपरथीमा बढुवा भएका थिए। सेनाभित्रका विभिन्न अनियमितामा मुछिएका शाहीलाई सेनाभित्र विवादित अधिकारीका रूपमा बुझ्ने गरिन्छ। उनीमाथि लागेका आरोपका विषयलाई ओझेलमा पार्नेगरी शाहीले आफ्नो उमेर विवादको मुद्दा लिएर सर्वोच्च पुगेको जंगी अड्डाको बुझाई छ। मुख्यालयको यसअघिको निर्णयलाई वास्ता नगरी न्यायलय पुगेपछि अवकासको मुखैमा उनी भ्रष्टाचारको आरोपमा सैनिक प्रहरीको नियन्त्रणमा पुगेका हुन्।

आफ्नो पदावधि एक वर्ष बाँकी रहेको दाबी गर्दै गत पुस ७ गते नेपाली सेनाको जंगी अड्डा र रक्षामन्त्रालय विरुद्ध रिट बोकेर शाही सर्वोच्च पुगेका थिए। शाहीको शैक्षिक प्रमाणपत्रमा दुईथरी उमेर देखिएको छ। सैनिक मुख्यालयका अभिलेख अनुसार उनी गएको पुस २० गते अवकासमा जाँदै थिए। अनिवार्य अवकासमा जानेभएपछि घर बिदामा रहेका शाहीलाई सर्वोच्च अदालतले एक वर्ष जागिर लम्बिने गरी अन्तरिम आदेश दिएको थियो। उमेर छलेर रथी बन्ने दाउमा रहेका उपरथी शाही अन्ततः अवकासको मुखैमा सैनिक हिरासतमा पुगेका हुन्।

समाचार स्रोत : हिमालय टेली भ्वाइस न्यूज एजेन्सी



प्रतिक्रिया दिनुहोस्