Logo

‘अब अरु प्रेमहरू राज्यको व्यथितिअघि निरीह हुन नपरोस्’



काठमाडौं, माघ १२ । उद्योग व्यवसाय, व्यापारदेखि राजनीतिसम्ममा हात हाल्दासमेत ‘असफल’ भएपछि संघीय संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्य अन्ततः ‘राज्यको व्यथितिसँग निरीह’ बन्दै संसारबाट बिदा भएका छन् ।

आफूजस्तै धेरै ‘प्रेमप्रसाद’को कथा आफ्नो देहत्यागसँगै प्रतिनिधित्व गर्दै संसार छाड्दा देशविदेशका नेपाली नागरिक शोकमग्न भएका छन् । सबैतिरबाट ‘असफल भएपछि आत्मदाहको बाटोमा अघि बढ्ने निर्णय गरेको’ भन्दै मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लामो आत्मकथा लेखेका उनले सोही दिन दिउँसो काठमाडौं नयाँ बानेश्वरस्थित संसद् भवनअघि शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरे । सोही क्रममा घाइते उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा बुधबार बिहान निधन भएको हो ।

कीर्तिपुर बर्न अस्पतालका चिकित्सक डा किरण नकर्मीका अनुसार आचार्यको शरीरको ८० प्रतिशत भाग जलेको थियो । आत्मदाह प्रयासअगाडि फेसबुकमा उनले ६ हजार ५ सय ३५ शब्द लामो ‘मृत्युपत्र’ लेख्दै ‘आफू जताततै असफल भएको’ उल्लेख गरेका थिए ।

आफूले आत्मदाह गर्नुपर्ने कारणसहित उनले जीवनको लामो भोगाइ वर्णन फेसबुकमार्फत लेखेका थिए । उद्यमीको परिचय बनाइसकेका उनले जीवनमा गरेका अनेक प्रयास असफल भएपछि सो कदम चाल्नुपरेको वर्णन फेसबुकमार्फत गरेका थिए ।

इलाम सूर्योदय नगरपालिका–११ घर भएका आचार्यका एक श्रीमती र दुई छोरी छन् । ‘म एकआम युवा, आमउद्यमी, आमव्यवसायी, प्रेमप्रसाद आचार्य सन्तोष रंगीन सपनाहरू बुनेर, परिवार, समाज र देशप्रतिको जिम्मेवारी बहन गर्दै अगाडि बढिरहेको थिएँ, आज छत्तिसौं वसन्त पार गरिसक्दा पनि गरिएका कर्मबाट केही उपलब्धि हासिल गर्न नसकेको तीतो सत्यलाई ओकल्दै मैले यो देशमा पढ्दा, जागिर खाँदा, व्यापार गर्दा, वैदेशिक रोजगारमा जाँदा एवं उद्योग चलाउँदा भोग्नुपरेका समस्या र ती समस्याहरूबाट पाएको शून्य उपलब्धि आज सर्सर्ती यो सामाजिक सञ्जालमा लेख्ने अनुमति चाहन्छु,’ आचार्यले आत्मदाह प्रयासअघि फेसबुकमा लेखेका थिए ।

उनले ‘काठमाडौंमा आफ्नो पहिलो व्यवसाय ठमेलमा ट्राभल एजेन्सी सुरु गरेर भएको र त्यसपछि केही उपलब्धि हुन थाले पनि ग्राहकले भुक्तानी नदिएपछि विस्तारै ओरालो यात्रा सुरु हुँदै जताततै असफलतामात्रै भोगेको’ उल्लेख गरेका छन् ।

व्यवसायकै क्रममा ‘इलाममा उत्पादित अकबरे खोर्सानी, गुन्द्रुक, तामाको अचार र घ्युसहितका स्थानीय उत्पादनसहित व्यापार गर्दै आएको र जीवनमा गरेका अनेक प्रयास असफल भएपछि आत्मदाहको बाटो चाल्नुपरेको’ वर्णन उनले फेसबुकमा गरेका छन् ।

समयक्रममा ‘आफू राजनीतिमा पनि होमिएको तर वितृष्णा मात्र भोगेको’ उनले अघि भनेका छन् । केही व्यक्ति र व्यापारिक कम्पनीको नाम नै फेसबुकमा लेखेर ‘सबैका कारण आफू निराश भएको’ आचार्यले उल्लेख गरेका छन् ।

संसद् भवन अघिल्लोतर्फ पर्ने मुख्य सडकबीचैमा आचार्यले मंगलबार प्रतिनिधिसभा बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसद् भवनबाट बाहिरिएलगत्तै आङ्खनो शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए । सो दृश्य देखेपछि प्रहरीले उनलाई उद्धार गरेर बर्न अस्पताल कीर्तिपुर पठाएको थियो ।

आचार्यले आङ्खनो देहलिला समाप्त गरे पनि सामाजिक सञ्जालमा उनको मेहनतको व्यापक प्रशंसा गरिँदै छ । परिवारले बुधबार दिउँसो आचार्यको शव बुझेको छ भने परिवारलाई सहयोग रकमसमेत धमाधम संकलन हुन थालेको छ ।

नेपाली कांग्रेस महामन्त्री गगन थापाले ‘आचार्यको मृत्यु राज्य संयन्त्रकै असफलता भएको’ टिप्पणी गरेका छन् । बुधबार साँझ फेसबुकमा स्टाटस लेख्दै उनले ‘यो नेपालको राज्य संयन्त्र, समग्र सिस्टम र सिस्टम चलाउनेहरूको असफलता भएको’ उल्लेख गरेका छन् ।

‘अब आरोपप्रत्यारोप वा क्षणिक भावनात्मक आवेगभन्दा पनि उनले पत्रमा उठाएका विषय र प्रसंगलाई सम्बोधन गर्न निरन्तर लागिरहने अठोट गर्न सकियो भनेमात्र यस्तो निराशा र विस्मय कोही नागरिकले भोग्नुनपर्ला’ कांग्रेस महामन्त्री थापाले लेखेका छन् ।

थापाले अघि लेखेका छन्, ‘यसो सोच्छु– उनको गरिखाने संघर्षका कुनै चरणमा केही भएको वा नभएको भए यस्तो हुदैनथ्यो कि फेरि सोच्छु– यो कुनै व्यक्तिको असफलता मात्रै होइन, यो त हाम्रो राज्य संयन्त्र र समग्र सिष्टमको असफलता हो । म, हामी सिष्टम चलाउनेको असफलता हो ।’

कांग्रेसकै अर्का महामन्त्री विश्वप्रकाश शर्माले संसद् भवनअगाडि दिउँसै आगो लगाएर प्रेम आचार्यले गरेको आत्मदाहले सबैलाई कठघरामा उभ्याएको बताएका छन् ।

आचार्यका हितैषी सञ्चारकर्मी युवराज गौतमले ‘ज्युँदै शरीरमा आगो लगाएर मृत्यु रोज्नुको पछाडि राज्य सबैभन्दा बढी जिम्मेवार बन्नुपर्ने’ बताउँछन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्