Logo

मिटरब्याजमा नयाँ शैली अपनाइँदै



कपिलवस्तु, माघ १२ । मिटरब्याजीले तमसुकको साटो सादा खाली चेकमा हस्ताक्षर गराएर बैङ्कको कारोबार गर्ने र सम्पत्ति हत्याउने गरेको खुलेको छ । कपिलवस्तु शिवराज नगरपालिका–५ की डिल्ली बुढामगर पतिको मृत्युपछि जग्गा नामसारीका लागि मालपोत कार्यालय गएपछि त्यस्तो घटना भएको अनुसन्धानबाट देखिएको छ ।

चारकोठे पक्की घरसहित दुई कट्ठा क्षेत्रफलको जग्गा नामसारी गर्न जाँदा अपरिचित व्यक्तिको नाममा आफ्नो घरजग्गा देखिएपछि उनी झसङ्ग भईन् । मालपोत कार्यालय चन्द्रौटाले सो जग्गा रुपिन्द्रप्रसाद आचार्यका नाममा रहेको बताएपछि उनले आचार्यको खोजी सुरु गरिन । नगरपालिकाको वडा नं ५, खैरीमा हरियाली आचार्य होटेल सञ्चालक रहेका आचार्यसँग भेट भएपछि मात्र उनले पति देउमन बुढाले पैसा लिएको र त्यही पैसाका आधारमा आफ्नो उठिबास भएको पाईन् ।

रुपिन्द्रले देउमनको नाममा रहेको शिवपुर ९(ख) कित्ता नं १६ (एक कट्ठा चार घुर) र कित्ता नम्बर १०९६ (१६ धुर) जग्गा दुई लाख ५० हजार रुपैयाँमा २०७६ मङ्सिर ९ गते घरखर्चबापत बिक्री गरिएको राजीनामा पत्रले देखाएको छ । सो क्षेत्रमा प्रतिकट्ठा ३० लाख रुपियाँका दरले कारोबार हुँदै आएको छ । डिल्लीले देउमनका साथी प्रकाश रोक्कामगरसँग सोधपुछ गर्दा सो रकम रुपिन्द्रसँग लिएको थाहा पाएका थिए । जग्गा नामसारी गराएका रुपिन्द्रसँग देउमनको नाममा रहेको गरिमा विकास बैङ्कको सादा चेकसमेत रहेको डिल्लीले बताए।

प्रकाशले दुई लाख ५० हजार कर्जा लिएको बताए पनि रुपिन्द्रले कर्जा लिएको रकम बैङ्क खाता हेरेपछि थाहा हुने बताइएको थियो । देउमनको गरिमा विकास बैङ्कमा रहेको खातामा २०७७ मङ्सिर २० गते रुपिन्द्रको नामबाट छ लाख ५० हजार रुपैयाँ जम्मा भएको देखिन्छ । खाताबाट पाँच दिनपछि छ लाख रुपैयाँ चेकमार्फत निकालिएको छ । देउमनको हस्ताक्षर रहेको सादा चेक रुपिन्द्रसँग भएको हुँदा सो रकम निकालिएको समेत शङ्कास्पद देखिन्छ ।

गत साउनमा प्रकाशको मृत्यु भएपछि रुपिन्द्रले १२ लाख रुपियाँको चेक देखाउँदै असारसम्म भाका रहेकाले २० लाख दिए जग्गा पारित गर्ने बताएको डिल्लीले बताए । बाख्रा पालेर जीविकोपार्जन गर्दै आउनुभएकी डिल्लीको आर्थिक अवस्था कमजोर भएका कारण रकम तिर्न नसक्ने अवस्था छ । सामान्य लेखपढ गर्न जानेका देउमनलाई दृष्टिबन्धक गराउने भनी रुपिन्द्रले लगेको मृत्युअघि प्रकाशले बताएका थिए । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्