Logo

‘एमालेले अघि सारेको उम्मेदवार नै राष्ट्रपति हुन्छ, लेखेर राख्नुस्’



काठमाडौं, १२ माघ । नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले भारतले नेपालसँग ऐतिहासिक कालखण्डमा भएका सन्धि सम्झौता जस्ताको तस्तै राख्न नमिल्ने औंल्याएका छन् ।
‘नेपाल-भारत सम्बन्ध आधारभूत रुपमा अत्यन्त राम्रो रहिआएको छ । तर हाम्राबीचमा समस्या पनि छन् । दुवै देशको स्वतन्त्रता र लोकतान्त्रिक आन्दोलनमा अग्रज नेताहरुको योगदान थियो । त्रिभुवन राजपथ, अन्तर्राष्ट्रिय विमानस्थल, त्रिशूली जलविद्युतलगायत विकास निर्माण र पूर्वाधार विकास भारतीय सहयोग बिर्सन सकिँदैन । तर सन् १९५० जस्ता इतिहासका कालखण्डमा गरेका सन्धि सम्झौता जस्ताको तस्तै हुनुपर्छ भन्नु कति जायज हो ? मित्रको भावना नबुझीकन कसरी मित्रता कायम रहन्छ ?’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै भट्टराईले प्रश्न गरे ।
नेपाल र भारतबीचको सीमा विवाद रातारात समाधान नभए पनि समाधानै हुन नसक्ने खालको नरहेको पनि उनको दाबी छ । भट्टराईले भने, ‘सन् १८१६ को सुगौली सन्धिबाट नेपालको भूभाग र नक्सा कायम भएको हो । त्यसमा नेपालको सीमा प्रस्ट छ । कालापानी, लिम्पियाधुरा र लिपुलेक १४६ वर्षसम्म हाम्रै थियो । सन् १९६२ मा चीनसँगको युद्धमा भारतीय सेना आएर त्यहाँ बसेको हो । हजारौं वर्षअघिका समस्या त समाधान भएका छन् भने यो त जम्मा दुई सय वर्ष अगाडिको समस्या हो । यो विवाद आजको भोलि रातारात समाधान नहोला । तर समाधान गर्नै सकिँदैन भनेर कसैले निर्णयमा पुगिदिन मिल्दैन ।’
फरक प्रसंगमा उनले आगामी राष्ट्रपति नेकपा एमालेले नै पाउने दाबी गरे । भट्टराईले थपे, ‘हामीले प्रचण्डलाई समर्थन गरेर प्रधानमन्त्री छाड्यौं । अब सभामुख र राष्ट्रपति एमालेले पाउनुपर्छ कि पर्दैन ? निर्वाचन नहुन्जेल सबै षडयन्त्र नाकाम हुन्छन् । एमालेले अघि सारेको उम्मेदवार नै राष्ट्रपति हुन्छ, लेखेर राख्नोस् ।’



प्रतिक्रिया दिनुहोस्