Logo

नेत्रज्योति संघको निःशुल्क आँखा शिविर, ३ सय ५८ जनाले पाए नयाँ दृष्टि



काठमाडौं, १२ माघ । कपिलबस्तुको दुई वटा स्थानीय तहमा भएको निःशुल्क आँखा शिविरमा ३ सय ५८ जनालाई उज्यालो प्रदान गरिएको छ।

नेत्रज्योति संघअन्तर्गत सञ्चालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जलले आँखा शिविरमार्फत ३ सय ५८ जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरेको नेत्रज्योति संघले जनाएको छ। कपिलबस्तु जिल्लाका बुद्धभूमि नगरपालिका र शिवराज नगरपालिकासंगको सहकार्यमा छुट्टाछुट्टै शिविर सञ्चालन गरिएको हो।

नेत्रज्योति संघले पैसाको अभावका कारण कोहीपनि अन्धोपनमा जीवन बिताउन नपरोस भन्ने हेतुले पछिल्लो समय पैसाहुनेसँग लिने र नहुँनेलाई सेवा दिने उद्धेश्यले स्थानीय सरकारसँगको साझेदारीमा उज्यालो अभियान कार्यक्रम सञ्चालन गर्दै आएको नेत्रज्योती संघले जनाइको छ।

माघ ६ र ७ गते शिवराज नगरपालिकामा सञ्चालन गरिएको शिविरमा १ सय ५६ जनाको मोतिविन्दुको नि:शुल्क शल्यक्रिया गरिएको थियो भने एक हजार ७४ जनाको आँखाको परीक्षण गरिएको थियो।

त्यस्तै बुद्धभूमि नगरपालिमा माघ ९ र १० गते सञ्चालित शिविरमा २ सय २ जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको थियो भने १ हजार २९४ जनाको आँखा परीक्षण गरिएको अस्पतालका बाह्य कार्यक्रम संयोजक ओपेन्द्र चन्दले जानकारी दिए।

नेत्रज्याति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५० भन्दाबढी आँखा उपचार केन्द्र संचालन गरिरहेको छ। संघले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरु मार्फत हरेक जिल्लाका नागरिकहरुलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ।



प्रतिक्रिया दिनुहोस्