Logo

राष्ट्रपति बन्न तयार छु : बाबुराम भट्टराई



काठमाडौं, १२ माघ । नेपाल समाजवादी पार्टी, नेपाल (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले आफूलाई साझा प्रस्ताव आए राष्ट्रपति बन्न तयार रहेको प्रतिक्रिया दिएका छन् । पछिल्लो समय प्रमुख राजनीतिक दलहरु राष्ट्रपतिको निर्वाचनकेन्द्रित छलफलमा जुटेको बेलामा भट्टराईको यस्तो अभिव्यक्ति आएको हो । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा उम्मेदवार नबनेका बाबुरामले आफ्नो क्षेत्र पूर्व सहकर्मी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई छोडेका थिए ।

दाहाल गोरखा–२ बाट निर्वाचित भएर अहिले देशको नेतृत्व गरिरहेका छन् । एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टीलगायत विभिन्न दलको समर्थनमा दाहाल अहिले प्रधानमन्त्री भएका छन् । प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्नुअघि नै एमाले र माओवादीबीच महत्वपूर्ण पदमा सहमति भएको चर्चा छ । जसअनुसार माओवादीले अढाई वर्ष सरकारको नेतृत्व गर्ने, त्यसपछि एमालेले सरकारको नेतृत्व गर्ने पहिलो सहमति थियो । सभामुखमा पनि एमाले र माओवादीले आलोपालो गर्ने समझदारी छ ।

अहिले एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित भएका छन् । त्यस्तै राष्ट्रपति एमालेले सहमति भएको बताईएको छ । तर, यसबारेमा कुनै लिखित सहमति भएको एमाले सचिव रघुवीर महासेठको दाबी छ । उनले एमालेकै एम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने कुनै ग्यारेन्टी नभएको दाबीसमेत गरेका छन् । उनले सत्ता गठबन्धनमा सहमति भएर उठ्ने उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने जिकिर गरेका छन् ।

प्रधानमन्त्री दाहालले भने २६ पुषमा संसद्मा कांग्रेसबाट पनि विश्वासको मत पाएकोले सोहीअनुसार राष्ट्रपतिमा समझदारी खोज्ने बताउने गरेका छन् । उनले एमालेलाई पनि स्विकार्य हुने उम्मेदवारको खोजी भैरहेको बताउने गरेका छन् । प्रचण्ड यसपटक बाबुरामलाई राष्ट्रपतिमा अघि सार्न चाहन्छन् । एमालेले पनि यसबारे सहमति जनाउने उनको विश्वास छ ।

आज बाबुरामले सबैको साझा उम्मेदवारको रुपमा अघि सार्ने प्रस्ताव आए आफू त्यसको लागि तयार रहेको बताएका छन् । पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन् । आजमात्रै प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच राष्ट्रपतिको निर्वाचनबारे छलफल भएको छ । दुई नेताले सहमतिमै राष्ट्रपतिको साझा उम्मेदवार तय गर्ने समझदारी गरेका छन् ।

राष्ट्रपतिमा बाबुरामलाई अघि सार्ने प्रचण्डको तयारी, कांग्रेसको पनि समर्थन !



प्रतिक्रिया दिनुहोस्