Logo

रवि लामिछानेको नागरिकता तत्काल खारेज गरेर उपनिर्वाचनमा जानुपर्छः कांग्रेस नेता



काठमाडौं, १३ माघ । नेपाली कांग्रेसका नेता प्रकाश रसाइली स्नेहीले पार्टी नेतृत्व रक्षात्मक भएकाले केन्द्रीय समितिको बैठक राख्न नसकेको बताएका छन् ।
‘६ महिनाभित्र बनाउनुपर्ने पार्टीका विभागहरु गठन भएका छैनन् । भातृसंस्थाहरुलाई अझै पूर्णता दिइएको छैन । महासमिति बैठक राखिएको छैन । नीति महाधिवेशनको अत्तोपत्तो छैन । प्रधानमन्त्री, सभामुख निर्वाचन अघि केन्द्रीय कार्य समितिको बैठक राख्नुको साटो विधानमै नभएको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक राख्नु दुःखद हो । पार्टी नेतृत्व रक्षात्मक भएकाले बैठक रोकिएको छ । कांग्रेस यसरी चल्दैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै रसाइलीले भने ।
कांग्रेस सबैभन्दा ठूलो पार्टी भएकाले सत्ताप्राप्ति भएन भनेर रोइलो गर्नु आवश्यक नभएको पनि उनले औंल्याए । रसाइलीले भने, ‘ठीक छ, सत्ता प्राप्ति भएन । प्रधानमन्त्री, सभामुख, मुख्यमन्त्री पाएन । तर ठूलो पार्टी त कांग्रेस नै हो । सत्ता घुमिफिरी कांग्रेसकै हातमा आउँछ । राष्ट्रपतिमा पनि आवश्यकताभन्दा बढी रोइलो गर्नु जरुरी छैन ।’
पार्टी सभापति शेरबहादुर देउवाले राष्ट्रपति निर्वाचनको नाममा पार्टीको आन्तरिक जीवन चलायमान नगराएको आरोप पनि उनले लगाए । रसाइलीले थपे, ‘कांग्रेस लोकतान्त्रिक पार्टी हो । यो पार्टी सेनाको ब्यारेक जसरी चल्दैन । राष्ट्रपतिमा उम्मेदवार उठाउनुपर्छ तर त्यसका निम्ति पार्टीका सबै काम छाड्नुपर्ने, बैठक सानुपर्ने कारण छैन । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मिति नतोकीकन हामीले हाफ पाइन्ट लगाएर बस्नुपर्ने के कारण छ र ?’
अर्को प्रसंगमा कांग्रेस नेता रसाइलीले रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाएर वर्तमान सरकारले राष्ट्रघात गरेको आरोप पनि लगाए । उनले थपे, ‘अमेरिकाको नागरिकलाई नेपालको गृहमन्त्री बनाउन मिल्छ ? यो सरकारले राष्ट्रघाती काम गरेको छ । प्रमाण, विधि र पद्धतिले रवि लामिछाने नेपाली नागरिक होइनन् । तैपनि नागरिक अगुवा तैं चुप मै चुप छन् ।
साथै उनले पार्टी महामन्त्री गगन थापाले रविको बचाउ नगरेको जिकिर पनि गरे । रसाइलीले भने, ‘कांग्रेसका नेताहरुले बोलिरहेका छन् । कसैले बचाउ गरेका छैनन् । यस्ता वाहियात कुरा नगर्नुस् । यो फौजदारी अभियोग जस्तै हो । रवि लामिछानेले राजीनामा दिएर केस लड्नुपर्थ्र्यो । कानुनी हिसाबले उनी अमेरिकी नागरिक हुन् । उनको नागरिकता तत्काल खारेज गरेर उपनिर्वाचनमा जानुपर्छ ।’

 



प्रतिक्रिया दिनुहोस्