Logo

एमाले नेताको प्रश्न- कांग्रेसले कति ठाउँमा सुँड घुसाएको ?



काठमाडौं, १३ माघ । नेकपा एमालेका नेता विष्णु रिजालले नेकपा (माओवादी केन्द्र) ले नेपाली कांग्रेसलाई राष्ट्रपति बुझाउने कल्पना पनि नगरेको बताएका छन् ।
‘अहिलेको सरकार बन्दा केपी शर्मा ओलीको निवासमा पुस १० गते जे सहमति भएको छ, त्यसैअनुसार प्रधानमन्त्री, सभामुख, उपसभामुख, प्रदेश सरकार बनेका छन् । अब मुलुकले अनिश्चयबाट मुक्ति पाएको छ । त्यसकै शृंखलाअन्तर्गत राष्ट्रपतिमा एमालेको उम्मेदवार हुने सहमति छ । माओवादीका साथीहरु फेरि कांग्रेससँग झुक्नुहुन्छ भन्ने मलाई लाग्दैन । अहिले हामीले त्यो कल्पना पनि गरेका छैनौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै रिजालले भने ।
सरकारल अस्थिर बनाउन र गठबन्धन भत्काउन मात्र नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको आरोप पनि उनले लगाए । रिजालले थपे, ‘संकटका बेला हामीले प्रचण्डलाई साथ दिएका छौं । अहिले के कारणले माओवादीले कांग्रेसलाई राष्ट्रपति दिने ? सरकार बनाउँदाको स्थितिमा तात्विक परिवर्तन आएको छैन । सरकार अस्थिर बनाउन र गठबन्ध्न भत्काउन मात्र नेपाली कांग्रेसले विश्वासको मत दिएको हो । हिजो रामवरण यादव राष्ट्रपति हुँदा प्रचण्ड रुँदैरुँदै सडकमा आउनुभएको होइन ? माओवादीले यसबारे गम्भीर भएर सोच्ने बेला आएको छ ।’
एमाले नेतृत्वको गठबन्धबाट देशको राजनीति सही दिशा जाने र जनतामा आशाको सञ्चार हुने पनि रिजालले बताए । उनले थपे, ‘कांग्रेस सत्तापक्षका लागि त योग्य भएन, भएन, प्रतिपक्षका लागि पनि योग्य भएन । कांग्रेसले कति ठाउँमा सुँड घुसाएको ? कति ठाउँमा मुख मिट्ठाएको ? यसले नेपालको लोकतन्त्रलाई विकृत बनाउँछ । विदेशी शक्तिलाई पनि चलखेल गर्ने अवसर दिन्छ ।’
तपाईंहरुको गठबन्धन त भत्किन लाग्यो नि भन्ने पत्रकार धमलाको प्रश्नमा रिजालले भने, ‘साततिर मुख फर्केको गठबन्धन छ । ती सबैका माग त स्वर्गबाट इन्द्र आए पनि पूरा हुँदैनन् । उपेन्द्र यादवजीका केही गुनासा छन् । त्यो हामी मिलाउँछौं । प्रदेश २ मा जसपाकै सरकार बनाइदिएका छौं । जनमत पार्टीका साथीले हिजो मन्त्रीको पदभार ग्रहण गर्नुभएको छ । त्यसैले हामी गठबन्धन जोगाएर जाने पक्षमा छौं ।’
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा अदालतको निर्णय पर्खनुपर्ने पनि उनले बताए । रिजालले भने, ‘रवि लामिछाने नागरिक कि गैर नागरिक हो कि होइन मैले भन्ने होइन । त्यो कुरा अदालतमा विचाराधीन छ । अदालतले जे निर्णय गर्छ, त्यसलाई मान्न हामी तयार छौं । न्यायालयको निर्णय एक सेकेन्डमै कार्यान्वयन हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्