Logo

रवि लामिछानेलाई जिम्मेवारी दिनु प्रचण्डको गल्ती होः कांग्रेस नेता



काठमाडौं, १४ माघ । नेपाली कांग्रेसका नेता श्याम घिमिरेले रवि लामिछानेले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्दै दोहोरो राहदानी प्रकरणको अन्तिम किनारा नलागेसम्म सार्वजनिक जिम्मेवारी लिनु नहुने बताएका छन् ।
‘लोकतन्त्र भनेको कानुनी शासन हो । सर्वोच्च अदालतको फैसला संविधान र कानुन अनुसार नै आएको छ । रवि लामिछानेले स्वयं यसको सम्मान गर्नुभएको छ । सबैभन्दा पहिले त नागरिकता र राहदानीको छानबिन गर्ने तालुकदार मन्त्रालयको जिम्मेवारी लिनु हुँदैनथ्यो । अब कोर्स करेक्सनमा लाग्नुस् । तीन वर्षसम्म दोहोरो राहदानी लिएर हिँडेको आरोप जीवितै छ । त्यसको अन्तिम किनारा नलागुन्जेल सार्वजनिक जिम्मेवारी नलिनुस्,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै घिमिरेले भने ।
रवि लामिछानेलाई जिम्मेवारी दिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट गल्ती भएको पनि उनले औंल्याए । घिमिरेले थपे,’ यो गठबन्धनको सरकार हो । रविजीको पार्टी २० सिट भएको पार्टी हो । तर नागरिकता र राहदानी विवाद भइरहँदा उहाँलाई गृहमन्त्री बनाएर प्रधानमन्त्रीबाट गल्ती भएको हो । सत्ता जोगाउने नाममा यस्ता फोहोरी खेल खेल्नुहुँदैन । अब नयाँ जिम्मेवारी दिँदा प्रधानमन्त्रीले पनि सोच्नुपर्ने हुन्छ ।’
केपी शर्मा ओलीको रगतमै निरंकुशता रहेकाले नेकपा एमालेलाई कुनै पनि हालतमा राष्ट्रपति दिनु नहुने जिकिर पनि उनले गरे । घिमिरेले भने, ‘ओली यो संसदलाई पनि कसैगरी विघटन गर्न चाहनुहुन्छ । उहाँ अस्थिरताको जननी हो । त्यसैले संसदको पूर्ण कार्यकालका लागि पनि हालतमा एमालेलाई राष्ट्रपति दिनु हुँदैन । किनभने उहाँको विरुद्ध एमालेका कुनै सांसद बोल्न सक्दैनन् । उहाँले राष्ट्रपतिलाई रबर स्ट्याम्प बनाउनुहुन्छ ।’ हारे पनि जिते पनि कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्