Logo

रविका हरेक निर्णय विवादमा



काठमाडौं, माघ १४ । पारिवारिक भिसामा अमेरिकाबाट नेपाल आएका रवि लामिछानेले ‘बुद्ध नेपालमै जन्मेका हुन्’ भन्ने विषयमा विश्व कीर्तिमानी टेलिभिजन कार्यक्रम सञ्चालन गरेर चर्चा बटुलेका थिए। उनले २०७२ सालदेखि नेपाली सञ्चारमाध्यममा वैदेशिक रोजगारीमा ठगिएका व्यक्तिलाई न्याय दिलाउने किसिमका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका थिए।

लामिछानेले २०७२ सालमा केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला ‘सीधा कुरा जनतासँग’ भन्ने कार्यक्रम सञ्चालन गरेपछि उनको लोकप्रियता चुलिँदै आएको थियो। उनले बुद्ध नेपालमै जन्मिएका हुन् भन्ने विषयमा टेलिभिजनबाट सबैभन्दा लामो समय कार्यक्रम सञ्चालन गरेर विश्व कीर्तिमान कमाएका थिए।

थिति र विधि बसाउनुपर्ने, अन्यायमा परेकालाई न्याय दिलाउनुपर्नेजस्ता टेलिभिजन कार्यक्रम सञ्चालन गर्दै आएका लामिछाने राजनीतिमा छिरेको छोटो समयमै उपप्रधान एवं गृहमन्त्री भए। टेलिभिजन कार्यक्रमबाट लोकप्रियता कमाएका उनले ६ महिनाअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गठन गरेका थिए। सोही पार्टीबाट प्रतिनिधिसभा सदस्य निर्वाचन लडेका उनी चितवन २ बाट सांसदमा निर्वाचित भएका थिए।

गृह मन्त्रालय सम्हालेपछि उनले गरेका हरेक निर्णय विवादमा परे। नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिक भएका लामिछाने अमेरिकी नागरिकता त्यागेर पुनः नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेपछि विवादमा परेका हुन्। यससम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकै बेला गृहमन्त्री भएपछि उनको आलोचना भयो।

लामिछानेले गृह मन्त्रालय सम्हालेपछि आफ्नो नागरिकता मुद्दा पर धकेल्न अनुसन्धान प्रभावित पार्नसक्ने आशंका गरिएको थियो। अदालतले उनको विपक्षमा फैसला गरिदिएको छ। छोटो समयमा राजनीतिमा उदाएका लामिछानेलाई अदालतको फैसलाले ‘ब्रेक’ लगाएको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्