Logo

रबिको राष्ट्रियतामा विवाद नरहेको रिट निवेदक वकिलको खुलासा (भिडियोसहित)



काठमाडौं, १४ माघ । अधिवक्ता रमण कर्णले रबि लामिछाने अब सामान्य नागरिक भएको बताएका छन् । कानुनले पहिले नै रबिलाई नागरिक मानिसकेको भन्दै नागरिकता पुनः प्राप्तिको प्रक्रियामा नजाँदा आजको अवस्था आएको उनले बताएका हुन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै सबै नागरिकले कानुन मान्नु पर्ने र रबिको हकमा चाहिँ कुनै विशेष व्यवस्था हुन नसक्ने बताएका हुन् ।

‘कानुनले भनेको कार्य गर्नु नागरिकको कर्तव्य हो । उहाँ कानुनलाई नमान्ने मानसिकतामा जानुभयो । सर्वोच्च अदालतको फैसलाले के सन्देश दियो भने तपाई कानुनभन्दा माथि हुनुहुन्न । तपाईले मुलुकको विद्यामान कानुन मान्नुपर्छ भनेर सर्वोच्चले शाही आयोगको फैसला, संसद् विघटनको फैसलामा र यसभन्दा अघिका नागरिकता विवादको फैसलामा भनिसकेको अवस्थामा त्यो भन्दा बाहिर जाने छुट नागरिकलाई छैन,’ उनले भने ।

रबिको राष्ट्रियता नेपाली भएकोमा कुनै विवाद नरहेको र उनले राजनीतिक अधिकार प्रयोगका लागि नागरिकता पुनः प्राप्ति नभएको उनको दाबी छ ।‘रबिको राष्ट्रियता माथि कसैले प्रश्न उठाएको छैन । रिट निवेदनमा पनि त्यो कुरा उठाइएको छैन । तपाईले राष्ट्रियताको आधारमा नागरिकता पाउनु भयो । तर, त्यसलाई त्याग गरिदिनु भयो । फेरी विदेशी नागरिकता त्याग गरेकै आधारमा नेपाली नागरिक मानिएको हो । तर, राजनीतिक अधिकार प्रयोगका लागि नागरिकता पुनः प्राप्तिमा जानुपथ्र्यो, त्यो भएन,’ उनले भने ।

अब, रबिले अमेरिकी नागरिकता त्यागेको निस्सा प्रमुख जिल्ला अधिकारीलाई दिएपछि पुरानै व्यहोराको नयाँ नागरिकता जारी हुने उनले बताए । रबि एकैपटक दुई देशको नागरिक भएर काम गरिरहेको उनको जिकिर छ । नागरिकता ऐनले दोहोरो नागरिकताको कल्पना नगरेकाले कायम नरहेको नागरिकताको आधारमा राहदानी बनाउनु पनि अपराध भएको उनको दाबी छ ।

 



प्रतिक्रिया दिनुहोस्