Logo

राष्ट्र निमार्णमा खेलकुदको महत्वपूर्ण भूमिका : मुख्यमन्त्री रावल



काठमाडौं, १४ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले राष्ट्र निमार्णका लागि खेलकुदको भूमिका महत्वपूर्ण भएको बताएका छन्।

आजदेखि महेन्द्रनगरमा कञ्चनपुर क्रिकेट मेलाको चौथो संस्करणको उद्घाटन गर्दै उनले खेल हार र जितका लागि मात्र नभई राष्ट्र निमार्णका लागि योगदान हुने बताएका छन्। ‘खेल हार र जितका लागि मात्रै होइन यसले राष्ट्र निमार्णमा समेत योगदान गरेको हुन्छ’, मुख्यमन्त्री रावलले भने, ‘राष्ट्रको विकासका लागि सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न जरुरी छ।’ उनले कञ्चनपुर खेलाडी उत्पादनको भूमिसमेत भएकाले यस्ता प्रतियोगिताले खेलाडीहरुको विकास हुने बताए।

स्टार प्रोडक्सनले आयोजना गरेको क्रिकेट मेलामा कर्पोरेट क्रिकेट प्रतियोगिता, वडास्तरीय प्रतियोगिता र विद्यालयस्तरीय प्रतियोगिता सञ्चालन हुनेछन्। आजदेखि कर्पोरेट क्रिकेट प्रतियोगिता सुरु भएको र वडास्तरीय तथा विद्यालयस्तरीय प्रतियोगिता पनि आइतबारदेखि सञ्चालन हुने प्रतियोगिता संयोजक अविनाश जोशीले जानकारी दिए।

उनका अनुसार प्रतियोगितामा विजेता टोलीले एक लाख ११ हजार, ट्रफी र प्रमाणपत्र पाउनेछ भने उपविजेता टोलीले रु ५५ हजार, ट्रफी र प्रमाणपत्र पाउनेछ। रासस



प्रतिक्रिया दिनुहोस्