Logo

एमालेको संस्थागत निर्णयबाट राष्ट्रपतिको उम्मेदवार चयन हुन्छ– अष्टलक्ष्मी शाक्य (भिडियोसहित)



काठमाडौं, १५ माघ । नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राष्ट्रपति पदलाई विवादको विषय बनाउन नहुने बताएकी छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै विभिन्न चलखेल सुरुभएको र यसलाई कसैको इन्ट्रेस्टको विषय बनाउन नहुने बताएकी हुन् । ‘राष्ट्रपति जस्तो पदलाई विवादको विषय बनाउन हुँदैन । कसैको इन्ट्रेस्टको विषय र कोही पार्टीको पहुँचको विषय बनाउन हुँदैन । राष्ट्रपति भन्ने पद सिंगो देशको संरक्षक हो । मेरो पार्टीको भए राम्रो अर्को भए नराम्रो भन्ने चलखेल भइराखेको छ । यसले राम्रो सन्देश दिएको छैन,’ उनले भनिन् ।

विगतमा राष्ट्रपतिको भूमिकालाई निष्पक्ष बनाउन नसक्दा अहिलेको अवस्था सिर्जना भएको उनको बुझाइ छ । ‘विगतमा राष्ट्रपति जस्तो गरिमामय पदलाई जसरी हेरिनुपर्ने थियो, निष्पक्ष र प्रभावकारी ढंगले राष्ट्रपतिको भूमिका अगाडि बढाउने सवालमा कमीकमजोरी भयो,’ उनले भनिन् । अहिलेको संविधानले राष्ट्रपतिको भूमिकालाई कार्यकारी नमानेकाले कुनै पार्टीलाई राष्ट्रपति कार्यकारी बनाउन मन लाग्दैमा त्यो सम्भव नरहेको उनको दाबी छ ।

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्दा भएको भागबण्डाको सहमति अनुसार अहिलेसम्मका पद बाँडफाड भएको र अब एमालेको संस्थागत निर्णयबाट नै राष्ट्रपतिको उम्मेदवार चयन हुने उनले बताइन् । राष्ट्रपतिलाई निष्पक्ष र मर्यादित बनाउन राजनीतिक दलको भूमिका महत्वपूर्ण हुने उनको ठम्याई छ । ‘विगतका राष्ट्रपतिहरुले के गर्न पर्ने, के गर्नु भयो त्यो आफ्नो ठाउँमा होला ? तर, राजनीतिक दलहरुले राष्ट्रपति जस्तो गरिमामय पदलाई सदुपयोग गर्ने र दुरुपयोग गर्ने सम्बन्धमा समस्या देखिएको छ,’ उनले भनिन् ।

अहिले मिडियामा आएजस्तो आफू राष्ट्रपतिको उम्मेदवारको दावेदार नभएको उनले बताइन् । पार्टीको संस्थागत निर्णयविना आफू त्यसबारेमा केही नबोल्ने र यसरी मिडियामा आएको बारेमा अन्यथा नमानेको पनि उनले बताइन् ।

 

 



प्रतिक्रिया दिनुहोस्