Logo

गर्भवती र सुत्केरीलाई सघाउँदै घामपानी समूह



काठमाडौँ,१५ माघ । छ सन्तानकी आमा भीममाया विक आजभोलि विगत सम्झेर झस्किनु हुन्छ । बागलुङको गलकोट नगरपालिका–२ नरेठाँटीकी विकले सबै सन्तान घरमै जन्माउनुभयो । साठी वर्षीया उहाँले २० वर्ष उमेर नपुग्दै विवाह गर्नुभयो । बच्चा जन्माउनुभयो ।

“त्यतिबेला त्यस्तै थियो । सानैमा बिहे हुन्थ्यो, बालबच्चा पनि चाँडो चाँडो पाउँथ्यौँ । गर्भावस्था र सुत्केरी छँदा केही भइहाले ज्यान जोगाउन मश्किल”, विकले भन्नुभयो–“फुकफाक गर्न धामीझाँक्रीकहाँ जाने चलन थियो ।”

विकलाई विगतले बेला बेलामा झस्काउने गर्छ । तर उहाँका सन्तान जन्मिने बेला खासै समस्या भने आएन् । “कुनै सन्तान खेतबारी, कुनैलाई गोठमा जन्माउनुप¥यो”, उहाँले भन्नुभयो । सासूले उहाँलाई काम गर्दागर्दै पनि बच्चा जन्माउन सकिन्छ भनेर सम्झाउनुहुन्थ्यो । छ सन्तान जन्माउँदासम्म पनि उहाँले कहिल्यै गर्भ परीक्षण गर्नुभएन् ।

“नजिकमा स्वास्थ्य संस्था थिएनन् । गर्भ परीक्षण गर्नुपर्छ भन्ने चेतना पनि थिएन । बच्चा जन्माउनुअघि स्वास्थ्यमा समस्या आउँदा झारफुकमा विश्वास गरेर बस्नुपथ्र्यो”, विकले भन्नुभयो । अहिले उहाँले छोरीबुहारीलाई महिनाबारी रोकिएकै दिनदेखि गर्भ परीक्षण र स्वास्थ्यचौकीमा सुत्केरी हुन प्रोत्साहन गर्न थाल्नुभएको छ ।

‘‘हाम्रा पालामा केही थिएन्, अहिले भएका सुविधा किन नलिने, ज्यान जोखिममा किन राख्नु”, उहाँले भन्नुभयो । समय समयमा गर्भ परीक्षण, आइरन चक्कीको प्रयोग, पोषिलो खानेकुरा खानुपर्ने तथा स्वास्थ्य संस्थामा सुत्केरी हुँदा जोखिम न्यूनीकरण हुनेलगायतप्रति विक सचेत हुनुहुन्छ । उहाँको गाउँमा घामपानी स्वास्थ्य आमा समूह सक्रिय छ । त्यही समूहमा सबै आमा जम्मा हुन्छन् र आफ्ना छोरीबुहारी गर्भवती भएमा जानकारी गराउँछन् । स्वास्थ्य स्वयंसेविकाबाट सल्लाह लिन्छन् ।

घामपानी समूहबाट आमाहरुले प्रजनन स्वास्थ्य तथा गर्भ, सुत्केरी अवस्थामा हुनसक्ने जोखिम र न्यूनीकरणका उपायबारे जानकारी पाउने गरेका छन् । “सुत्केरी हुनु भनेको महिलाले अर्को चोला पाउनु हो, स्वाथ्यचौकी गएमा सुरक्षित भइन्छ”, विकले भन्नुभयो– “स्वास्थ्यकर्मीको निगरानीमा सुत्केरी हुँदा तत्काल आउने सक्ने जोखिमबाट बच्न सकिन्छ ।”

स्वास्थ्य स्वयंसेविकाले विकले जस्तै अभिभावक र गर्भवती तथा सुत्केरीलाई स्वास्थ्य आमा समूहको बैठकमा गर्भावस्था र सुत्केरी अवस्थाको विषयमा जानकारी गराउनुहुन्छ । स्वास्थ्य संस्थामा सुत्केरी हुँदा सरकारले दिने सुविधा, आमा र बच्चाको ज्यान जोखिममा नपर्ने अवस्थाका बिषयमा समेत स्वास्थ्य आमा समूहमा छलफल हुन्छ ।

समूहमा आवद्ध उनीहरुले गर्भवती बुहारीलाई नियमित स्वास्थ्य जाँच र स्वास्थ्यचौकीमा सुत्केरी हुन प्रेरित गर्ने गरेको स्वास्थ्य स्वयंसेविका बिमिना परियारले बताउनुभयो । उमेरले ६० कटेका विक, कोपिला नेपाली र छमकुमारी कुँवर घामपानी गाउँका उदाहरण मात्रै हुन् । “मेरा छ छोराछोरी छन्, उबेला स्वास्थ्यचौकी थिएनन्, कष्टका साथ सन्तान पाइयो, हुर्काइयो’’ छमकुमारीले भन्नुभयो ।

नरेठाँटीमा घरमै सुत्केरी हुनेको सङ्ख्या शून्य छ । कुपोषित बालबालिकासमेत अहिलेसम्म नभेटिएको नरेठाँटी स्वास्थ्य चौकीका प्रमुख जगन्नाथ सुवेदीले बताउनुभयो । बिगत एक वर्षयता स्वास्थ्यचौकीको बर्थिङ सेन्टरमा २८ स्वस्थ बच्चा जन्मिएका छन् । घामपानी गाउँका जस्तै नरेठाँटीका गर्भवतीले नियमित गर्भपरीक्षण गराउने गरेका छन् ।

पोषणका विषयमा पनि गर्भवती, सुत्केरी र उनीहरुको परिवार सचेत रहेको सुवेदीले बताउनुभयो । गलकोट नगरपालिकाले हरेक स्वस्थ आमा र बच्चाका लागि मापदण्डअनुसार गर्भ परीक्षण गरेका सुत्केरीलाई सरकारले उपलब्ध गराउँदै आएको बाहेक अतिरिक्त रु चार हजार पाँच सय पोषण भत्ता उपलव्ध गराउँदै आएको छ । रासस

 



प्रतिक्रिया दिनुहोस्