Logo

प्रेमप्रसादको आत्मदाह र रविको नागरिकता विवादमा राज्य दोषी रहेको संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाको आरोप



काठमाडौं, १५ माघ । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा आफ्नो धारणा सार्वजनिक गरेको छ । मोर्चाले आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी केही दिन अघि संसद् भवन अगाडि आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाह गरेका प्रेमप्रसाद आचार्य र रबि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतबाट भएको फैसलामा आफ्नो धारणा सर्वाजनिक गरेको हो ।

यस्ता घटना घट्नुमा राज्य प्रमुख दोषी रहेको उल्लेख गर्दै मोर्चाले अहिलेको राज्य व्यवस्था नै परिवर्तनको आवश्यकता औंल्याएको छ । मोर्चाका उपाध्यक्ष यमराज आचार्यले नेपालको संविधानलाई लङ्गडो संविधानको संज्ञा दिए । उनले अहिलेको व्यवस्थाले प्रेमप्रसाद आचार्यलाई आतमदाहको लागि बाध्य बनाएको आरोप लगाए ।

रबि लामिछानेतर्फलक्षित गर्दै उनले भने–‘आज यो देशमा व्यवस्था परिवर्तन गर्नु पर्ने थियो । केही साथीहरु अवस्था परिवर्तन गर्छु भनेर जानुभयो । यो सम्पूर्ण घटना अवस्थाको कारण भएको होइन व्यवस्थाको कारण भएको हो । यसको मूल कारण २०७२ को लंगडो संविधान हो ।’

अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले उद्यमी–व्यवसायीलाई आत्मदाह गर्न बाध्य बनाएको उनको आरोप छ । संसद् भवन अगाडि आत्मदाह गरेका आचार्यलाई शहीद घोषणा गर्न पनि उनले माग गरेका छन् ।

‘प्रेमप्रसाद आचार्य उहाँले आत्मदाह गरेर मर्नुभयो । उहाँ सहिद हो र म उहाँलाई स्मरण गर्न चाहन्छु । यो व्यवस्थाले उद्यमी÷व्यवसायी र युवाहरुलाई आत्महत्या गर्न विवश बनाएको छ ।

रबि लामिछानेको नागरिकता विवादमा सर्वोच्चबाट भएको फैसलाको प्रसंगमा उनले नेपाली नागरिकले बाध्य भएर अन्य देशको नागरिकता लिने गरेको बताए । अन्य मुलूकको नागरिकता लिन पर्ने बाध्यतालाई ध्यान दिएर दोहोरो नागरिकताको व्यवस्था हुनुपर्ने उनको भनाइ छ ।

साथै, नेपालमा बास्तविक मिटर व्यवसायी बैंक तथा वित्तीय संस्था भएको उनको आरोप छ । नेपालको कानुन अनुसार अहिले वार्षिक १० प्रतिशत भन्दा बढि व्याज लिन नपाउने व्यवस्था भएपनि व्याजकै कारण प्रेमप्रसादजस्ता उद्यमीले आत्मदाह गर्ने अवस्था सिजर्ना भएको उनको आरोप छ ।

त्यसैगरी, मोर्चाका सह–अध्यक्ष एवं वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले रबि लामिछानेको फैसलाको मूलुकको राजनीतिमा अत्यन्त संवेदनशील प्रश्न सिर्जना गरेको बताए । गत मंसिरमा सम्पन्न निर्वाचनमा कुनै पनि दललाई जनताले शासन गर्न मत नदिएको उनको दाबी छ । अहिलेको सत्ता गठबन्धनलाई उनले सर्प, भ्यागुता र विच्छिको गठबन्धनको संज्ञा दिए ।

‘देशमा कुनै पनि राजनीनिक पार्टीलाई शासन गर्ने अधिकार जनताले दिएनन् । तपाईहरु कुनै पनि राजनीतिक दललाई नेपाली जनतामाथि शासन गर्ने अधिाकार छैन । यो गठबन्धनको निति तथा कार्यक्रममा कार्यक्रम छ, नीति छैन । राज छ नीति छैन । देश राजनीतिले चल्छ राजले चल्ने होइन । सर्प, भ्यागुतो र विच्छी एकै ठाउँमा बसेर सरकार बनाएका छन् । एउटा गणतन्त्रवादी अर्को राजतन्त्रवादी, एउटा संघीयताको विरोधी अर्को पक्षधर, राजतन्त्र स्थापित गर्छु भन्ने राष्ट्रपतिलाई भोट हाल्छु भन्ने । यो मुलुकको यो चित्रण संघीय लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्षता असफल भएको हो,’ उनले भने ।

सर्वोच्चको आदेशले रबिको नागरिकता अवैध भन्दै निर्वाचन आयोगका सबै प्रक्रिया बदर भनेको अवस्थामा उनको दलको वैधता बारेमा प्रश्न उठेको उनको दाबी छ । रबिको नागरिकता रद्द भएपनि पार्टीको अस्तित्व रहिरहन नसक्ने उनले बताए । .

‘जब मेरो नागरिकता देशको कानूनबमोजिम अध्यावधिक छैन भने मैले दर्ता गरेको पार्टी चाहीँ सदर छ ? पार्टी सदर छैन भने चुनाव जितेकाहरु चाहीँ सदर ? कस्तो हो यो राज्य व्यवस्था ? अध्यक्षकै नागरिकता छैन त्यो दल कसरी कायम हुन्छ ?’ उनले प्रश्न गरे ।

साथै, फरक प्रसंगमा उनले नेपाली कांग्रेस प्रतिपक्ष दल हुन नसक्ने बताए । लोकतन्त्रमा सरकारलाई विश्वासको मत दिने पार्टी प्रतिपक्ष दल हुन नसक्ने उनको दाबी छ । वर्तमान राज्य प्रणाली नेपाल र नेपाली जनताको लागि अभिश्राप भएको उनको आरोप छ ।

मोर्चाका अध्यक्ष तारानाथ लुइँटेलले आफूहरु सदैव राजतन्त्र, हिन्दुराष्ट्र र भ्रष्टाचारमुक्त देशको अभियानमा रहेको बताए । अहिलेका दलहरुले विदेशीको गोटी बनेर नेपाली जनतालाई भ्रममा राखेको उनको आरोप छ । राजतन्त्र अन्त्य भएको १७ वर्ष पूरा हुँदापनि केही गर्न नसकेको र देशमै केही गर्छु भन्ने युवाहरुलाई आत्मदाह गर्न बाध्य बनाएको उनको आरोप छ । साथै, मुलुकमा सरकार नै नभएको उनको दाबी छ ।

‘म नेपालमै रोजगार गर्छु भन्ने व्यक्तिले संसद् भवन अगाडि राज्यले देखोस् भनी आगो लगाएर देहत्याग गर्नुभयो । यो मुलुकमा राज्य छ ? राजसंस्था हुँदा नेपालमा भएका उद्योग विक्रि गरेर नेपालीका छोराछोरीलाई विदेश पठाउने काम भयो,’ उनले भने ।

साथै, मिटर व्याजीहरुले गरिबहरुलाई घरबारविहीन बनाउँदा पनि सरकार मुकदर्शक बनेको उनको आरोप छ । अहिलेका बैंक तथा वित्तिय संस्थाहरुले जनतालाई मिटर व्याजीले झैं लुटिरहेको उनको भनाई छ ।

राजनीतिक दलले जनताको बारेमा नसोचेर कसरी सत्तामा पुग्न सकिन्छ भन्ने मात्रै ध्यान दिएको उनको भनाइ छ । सर्वोच्चले गरेको रबि लामिछानेको फैसालासँगै नेपाली जनताको भोटको अवज्ञा भएको उनको भनाई छ । संसद् भवनमै अपराधी ओहोरदोहोर गर्दा पनि प्रहरीले नसमाएर यो सरकारले आफैंले बनाएको कानूनको धज्जी उडाएको उनले बताए ।

कार्यक्रमको सञ्चालन मोर्चाकी प्रवक्ता सिर्जना वाग्लेले गरेकी थिईन् । त्यसै मोर्चाका अध्यक्ष तारानाथ लुइँटेल, उपाध्यक्ष यमराज आचार्य, सह–अध्यक्ष विष्णु भट्टराई, वरिष्ठ उपाध्यक्षहरु कृष्णगोपाल श्रेष्ठ, कृष्णप्रसाद लुइटेल, सहमहामन्त्री नव पन्तलगायतको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस्