Logo

सत्ता गठबन्धन भत्काउन शक्तिकेन्द्रको दौडधुप



काठमाडौं, माघ १६ । राष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु हुनुअगावै वर्तमान सत्ता गठबन्धन भत्काउन विभिन्न शक्तिकेन्द्र दौडधुपमा लागेको पाइएको छ ।

एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतको सत्ता गठबन्धनलाई टुटाएर नयाँ सत्ता समीकरण बनाउने खेल सुरु भएको हो । सो खेलले सरकारलाई अस्थिर बनाउन मलजल पुग्ने विश्लेषण राजनीतिक वृत्तमा गरिएको छ ।

विदेशी शक्तिकेन्द्रदेखि राष्ट्रियस्तरकै विभिन्न शक्तिकेन्द्रसमेत नयाँ समीकरण बनाएर सरकार फेरबदल गराउने कोसिसमा रहेका स्रोतको दाबी छ । एमालेका उपमहाचिव प्रदीप ज्ञवालीले आइतबार एक कार्यक्रममा बोल्दै सत्ता गठबन्धन टुटाएर मुलुकलाई अस्थिर बनाउने खेल सुरु भएको बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिकेन्द्र वर्तमान सत्ता गठबन्धन टुटाएर अर्को गठबन्धन बनाउन लागेको र त्यसले अस्थिरता सिर्जना हुने उनको भनाइ थियो ।

स्रोतका अनुसार कांग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रकै केही नेता वर्तमान सत्ता समीकरण भत्काउन लागिपरेका छन् । यद्यपि, माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने सरकार गठन भएको छोटो समयमै सत्ता गठबन्धन भत्काउँदा सरकारप्रति नै ठूलो अविश्वास बढ्ने भएकाले त्यस्तो गर्न नहुने पक्षमा छन् ।

तर, प्रधानमन्त्री प्रचण्डलाई गठबन्धन फेर्न राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिकेन्द्रले विभिन्न किसिमको दबाब दिइरहेको स्रोतको दाबी छ । स्रोतका अनुसार कांग्रेस र एकीकृत समाजवादीका नेता राष्ट्रपति निर्वाचनसँगै गठबन्धन टुटाउन अग्रसर हुन थालेका छन् । यसका लागि कांग्रेस र एकीकृत समाजवादीका नेता रातदिन भेटघाट र योजना बनाउने कार्यमा सक्रिय भइरहेका स्रोतको दाबी छ ।  राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot