Logo

एउटा पक्षलाई बाहिर राखेर राष्ट्रिय सहमति हुन सक्दैनः माओवादी नेता



काठमाडौं, १६ माघ । नेकपा (माओवादी केन्द्र) का नेता एवं संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले संविधानको कार्यान्वयन, परिवर्तनको रक्षा र आर्थिक समृद्धिका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको औंल्याएका छन् ।
‘अहिले हाम्रो पार्टीको स्थायी समिति बैठकमा समसामयिक राजनीति र आन्तरिक संगठनात्मक छलफल चलिरहेका छन् । तर औपचारिक निर्णय भइसकेका छैनन् । सरकार आम जनचाहना अनुसार अघि बढ्न चाहन्छ । राष्ट्रिय स्वाधीनता र समृद्धिका निम्ति राष्ट्रिय सहमति अहिलेको आवश्यकता हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने ।
माओवादी नेता पाण्डेले देशको एउटा महत्त्वपूर्ण पक्षलाई बाहिर राखेर राष्ट्रिय सहमति हुन नसक्ने औंल्याए । उनले भने, ‘पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएपछि मुलुक राष्ट्रिय सहमतितर्फ अग्रसर हुने अभिमत प्रकट भएको छ । तर एउटा पक्षलाई बाहिर राखेर सहमति हुन सक्दैन । देशका महत्त्वपूर्ण पदहरुमा राष्ट्रिय व्यक्तित्व चाहिन्छ । उसले मात्र संविधानको रक्षा र कार्यान्वयन गर्न सक्छ ।’ निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन कार्यक्रम प्रस्तुत गरेपछि उपयुक्त नाम आउने पनि उनले बताए ।
साथै उनले रवि लामिछाने तत्काल स्वार्थ बाझिएको मन्त्रालयमा जानु उपयुक्त नहुने पनि संकेत गरे । पाण्डेले थपे, ‘हामीले जहिले पनि ऐन कानुन पालनामा जोड दिनुपर्छ । रवि लामिछानेका बारेमा अझै पनि कैयौं विषयवस्तुको निर्णय हुन बाँकी छ । त्यसैले अहिले नै हतारहतार मन्त्रालयमा फर्किन खोज्दा दीर्घकालीन रुपमा प्रभाव पार्छ । तर यसबारे केपी ओली र प्रचण्डबीच के कुराकानी भयो, म कुनै टिप्पणी गर्न चाहन्नँ ।’ गठबन्धन तोडिने र बन्ने कुरा सामान्य भएको पनि उनले बताए ।
बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकीकरण गरेर पार्टीको नाम नेकपा (समाजवादी) राख्न लाग्नुभएको हो भन्ने पत्रकार धमलाको प्रश्नमा पाण्डेले भने, यसबारे कुनै छलफल भएको छैन । बाबुरामजीको पार्टी र हामी एउटै चुनाव चिह्नमा लडेका हौं । उहाँको पार्टीबाट संघीय संसदमा महिन्द्र राय, उमरावतीदेवी यादवले प्रतिनिधित्व गरिरहनुभएको छ । गंगानारायण श्रेष्ठ, फणिन्द्र देवकोटाले प्रदेशसभामा प्रतिनिधित्व गरिहनुभएको छ । अब एकता हुनु त सामान्य भैहाल्यो नि ।’



प्रतिक्रिया दिनुहोस्