Logo

जसपा नेताको आक्रोश– रवि लामिछाने एक दिन अनागरिक हुँदा कोकोहोलो मच्चाउने, लाखौं युवा अनागरिक हुँदा आँखा चिम्लने ?



काठमाडौं, १६ माघ । जनता समाजवादी पार्टी (जसपा) का नेता एवं सांसद राजकिशोर यादवले देशमा लाखौं युवा अनागरिक भएर बाँच्नु परेको स्थितिमा राज्य असंवेदनशील भएको टिप्पणी गरेका छन् ।
‘सर्वोच्च अदालतको फैसलाले रवि लामिछाने सांसद र मन्त्री बन्न अयोग्य हुनुभयो । एक जना रवि लामिछाने एक दिनका लागि अनागरिक हुँदा पूरै राज्यको चर्चाको केन्द्रविन्दु भयो, तर लाखौं लाख युवाहरु नागरिकता पाउन योग्य हुँदाहुँदै पनि अनागरिक भएको पीडा किन कसैले देख्दैन ? उनीहरु राज्यको विभेदकारी नीतिका कारण छटपटिएर बाँच्नु परिरहेको छ । राज्य यसरी असंवेदनशील हुन मिल्छ ?’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै यादवले भने ।
रवि लामिछानेले अदालतको सम्मान गर्दैै सबै प्रक्रिया पूरा नगरी जिम्मेवारी लिन नमिल्ने उनको जिकिर छ । यादवले थपे, ‘दल र नेताहरुको यस्तै क्रियाकलापका कारण व्यवस्थाप्रति एकप्रकारको अविश्वास, विकर्षण र घृणा उत्पन्न भएको छ । अझै पनि नेताहरुको चेत खुलेन भने समस्या हुन्छ । कानुनभन्दा माथि कोही छैन । रविले कानुनी राज्य र विधिको शासन मान्ने हो भने अदालतको सम्मान गर्दै प्रक्रिया पूरा गरेर मात्र अन्य कुरामा ध्यान दिनुपर्छ । प्रधानमन्त्रीले पनि यस्तो गल्ती गर्नुहुँदैन । यस्तो भयो भने सरकारको विश्वसनीयतामै प्रश्न उठ्छ । हामी सबै विधि र थितिमा बाँधिनैपर्छ ।’
दुइटै सदनले दुई तिहाइ बहुमतका साथ दुईपटक नागरिकता विधेयक पठाउँदा पनि प्रमाणीकरण नभएको आक्रोश पनि उनले पोखे । यादवले भने, ‘राष्ट्रपति नागरिकता विधेयक इफ र बट नगरी कार्यान्वयन गर्नुपर्नेमा उल्टाइदिएको दृष्टान्त पनि हामीसँग छ । यसका दोषी मुख्य पात्रहरुलाई जनताको बीचमा ल्याएर दण्डित गर्नुपर्छ । र, तत्काल नागरिकता विधेयक ल्याउन म संसदमा बहस सुरु गर्छु ।’
राष्ट्रपतिको आलकांरिक भूमिकालाई आत्मसात् गरेमा अहिलेको ध्रुवीकरण र खिचातानी स्वतः कम भएर जाने उनले बताए । उनले भने, ‘विगतमा राष्ट्रपतिले संविधानले परिकल्पना गरेभन्दा बाहिर आफ्नो ढंगले व्याख्या गरेर प्रयोग गरे । त्यसैले आज सबै दलमा राष्ट्रपतिमार्फत आफ्नो अनुकूल काम गराउने वा राष्ट्रपतिले जे पनि गर्न सक्छ भन्ने डरको मनोविज्ञान बनेको छ । यी दुवै घातक हुन् । आलकांरिक राष्ट्रपतिको भूमिकालाई आत्मसात् गरेमा अहिलेको ध्रुवीकरण र खिचातानी स्वतः कम भएर जान्छ ।’
साथै जसपा नेता यादवले आगामी राष्ट्रपति मधेसी समुदायको हुनुपर्नेमा जोड दिए । उनले थपे, ‘राष्ट्रपतिमा दलीयभन्दा पनि साझा व्यक्तित्वको खोजी गर्नुपर्छ, प्रधानमन्त्री र सभामुख एउटा समुदायबाट मात्र भएकाले राष्ट्रपति मधेसीबाट बनाउन सक्दा मुलुकमा भावनात्मक र राष्ट्रिय एकता झल्किन्छ । साझा नेपाल बन्छ ।’



प्रतिक्रिया दिनुहोस्