Logo

रवि लामिछाने गठबन्धनको आवश्यकता होः एमाले नेता



काठमाडौं, १६ माघ । नेकपा एमालेका नेता एवं सांसद सूर्य थापाले रवि लामिछाने गठबन्धनको आवश्यकता भएको औंल्याउँदै बुद्धिमत्तापूर्ण निर्णय गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।
‘अब हामीसँग गठबन्धन गर्दाको समझदारी अनुसार अघि बढ्नुको विकल्प छैन । संसदको सिट र मतका आधारमा रवि लामिछानेले गृहमन्त्रालय सम्हाल्ने समझदारी भएकै हो । अहिले सात दलको गठबन्धन बचाउने कुरा छ, नयाँ दलप्रति जनताको आशाको कुरा पनि छ । अहिले नै कसैलाई यस्तो उस्तो मुद्दा लगाइन्छ भनेर हामी परिकल्पना नगरौं । गठबन्धनको आवश्यकताका हिसाबले बुद्धिमत्तापूर्ण निर्णय गर्नुपर्छ । खल्तीको गठबन्धन जोगाउन नलाग्ने अनि भुइँको टिप्न खोज्दा समस्या आउन सक्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने ।
एमाले नेता थापाले केपी शर्मा ओलीले रवि लामिछानेलाई गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएको दिएको भन्ने खालका मिडियाबाजी दुराशययुक्त भएको पनि टिप्पणी गरे । उनले भने, ‘दुई शीर्ष नेताहरुबीच छलफल चलिरहेका बेला, विचाराधीन विषयमा टिकाटिप्पणी गर्नु उचित होइन । हाम्रा अध्यक्षले त्यसरी सार्वजनिक रुपमा बोल्नुभएको पनि छैन । एमालेको चाहना अनुसार गृहमा फर्काउने, नफर्काउने भनेर बहस नगरौं । विचाराधीन विषयलाई नतन्काऔं ।’
रवि लामिछानेले गरेको गल्ती सच्चाउन सर्वोच्च अदालतले गरेको फैसला मानिसकेको स्थितिमा अन्यथा कुरा गर्न नमिल्ने उनको भनाइ छ । थापाले थपे, ‘एकप्रकारको हेलचेक्र्याइँले रविजीको नागरिकता बदर हुन पुग्यो । उहाँ नेपाली नागरिक नभएर होइन, प्रमाणपत्रका कारण समस्या भएको हो । पहिचानको समस्या पनि होइन । उहाँ बकाइदा बोनाफाइड नागरिक हो । अब हामीले जनताको तहमा भएका निराशा, आक्रोशबारे पनि जवाफदेही हुनुपर्छ । नयाँ पुरानो भनेर कुनै किसिमका गल्ती ढाकछोप गर्नुहुँदैन । उहाँको जति हदसम्म गल्ती हो, त्यति हदसम्म सच्चाउन सर्वोच्च अदालतले भनिसकेपछि अरु विवादमा फस्नु जरुरी छैन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot