Logo

केपी ओली, कमल थापा र रवि लामिछाने देउतालाई पनि ढाँट्ने मान्छे हुन्ः खतिवडा



काठमाडौं, १६ माघ । नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले देशमा कोही नभएजस्तो रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाग्नु नहुने बताएका छन् ।
‘भर्खरै सबै पद खारेज भएको मानिसलाई देशमा कोही नभएजस्तो गृहमन्त्री बनाउनु प्रचण्ड लाग्नुहुन्छ भन्ने लाग्दैन । यो त कहीं नभएको जात्रा हाँडीगाउँको जात्रा भनेजस्तो भैहाल्यो नि । यो जनमतको उपहास र कानुनी राज्यको सरासर अपमान हुन्छ । यो देशमा सबैभन्दा विवादित व्यक्ति नै रवि लामिछाने हो जसले आफूलाई ढाँट्यो, देशलाई ढाँट्यो, राष्ट्रपति र प्रधानमन्त्रीलाई ढाँट्यो । यो भन्दा निर्लज्जता केही हुनै सक्दैन । यसरी दिनदहाडै कानुनलाई धज्जी उडाउने काम गर्नुहुँदैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने ।
सांसद खतिवडाले केपी ओली, कमल थापा र रवि लामिछाने देउतालाई पनि ढाँट्ने मान्छे भएको आरोप पनि लगाए । उनले भने, ‘केपी ओली त सुरुदेखि नै संविधान च्यात्न लागिरहनुभएको छ । जहिले पनि गलत तत्वको संरक्षण गर्न चाहनुहुन्छ । जनमतको उपहास गर्न लागिरहनुभएको छ । अब उहाँको इच्छा पूरा हुन सक्दैन । पर्सि संसदमा म यो कुरा उठाउँछु । केपी ओली, कमल थापा र रवि लामिछाने देउतालाई पनि ढाँट्ने मान्छे हुन् ।’
रवि लामिछानेले सीआईबीदेखि सम्पत्ति शुद्धीकरण आयोगमा निवेदन दिएर जाली नागरिकता, दोहोरो नागरिकता र सम्पत्तिको छानबिन गराएर मात्र राजनीतिमा फर्कनुपर्ने उनले औंल्याए । खतिवडाले भने, ‘अब फेरि आमा, मलाई त्यही केटी चाहिन्छ भन्ने शैलीमा गृहमन्त्री चाहिन्छ भन्नु हुँदैन । नयाँ शक्तिका रुपमा उदाएको रविको दलले पनि गृहमन्त्रालय हाम्रै हो भन्ने दाबी गर्नुहुँदैन । यस्तै हो भने त रविजीले हस्ताक्षर गरेर बनाएका सांसदका बारेमा पनि प्रश्न उठ्न सक्छ ।’



प्रतिक्रिया दिनुहोस्