Logo

रबिको नागरिकता अवैध भएपछि उनको पार्टी वैध हुँदैन– अधिवक्ता विष्णु भट्टराई (भिडियोसहित)



काठमाडौं, १६ माघ । वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले रबि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतबाट भएको फैसला कानुन बमोजिम ठीक भएको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सर्वोच्चको फैसला राजनीतिक विश्लेषणका आधारमा बेठीक भएपनि कानुनी आधारमा ठीक भएको बताएका हुन् ।

साथै, राष्ट्रिय स्वतन्त्र पार्टी संघीयता विरोधी भएको उनको आरोप छ । रबिको हकमा सर्वोच्चले सुरुदेखिका सबै काम कारबाही बदर गरेको भन्दै उनी सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी सदर हुन नसक्ने उनको दाबी छ । ‘सर्वोच्च अदालतले भन्यो निर्वाचन आयोगदेखिका कामकारबाही बदर हुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता भएको कुरा सदर भो ? अहिले पार्टीको बैधानिकता बाँकी नै छ, पार्टीको अध्यक्ष चाहीँ अवैध भयो । अध्यक्षकै नागरिकताको वैधानिकता नभएपछि पार्टीको चाहीँ वैधानिकता बाँकी छ ?’ उनले प्रश्न गरे ।

रबिको हकमा निर्वाचन आयोगले जानाजान आफ्नो जवाफदेहिता पुरा नगरेको उनको आरोप छ । ‘राजनीतिक दल दर्ता गर्न आउँदा नागरिकता लगायतका कागजपत्र ठीक छन् कि छैनन् भनेर हेर्ने कि नहेर्ने ? अमेरिकन पास्पोर्टमा रबि नेपाल आएका थिए भनेपछि यो देशको गृहमन्त्रालयमा रेकर्ड राख्नु पर्छ कि पर्दैन ? अमेरिकी पास्पोर्टमा आउने अनि नेपाली नागरिकता लिएर राजनीतिक दल दर्ता गर्ने ?’ उनले भने । अहिलेको सत्ता गठबन्धनको राजनैतिक, सैद्धान्तिक र नैतिक अवधारणा नरहेको उनको आरोप छ । सत्तामा बस्ने प्रयोजनको लागिमात्रै यो गठबन्धन बनेको उनले दाबी गरे ।

अहिलेको सत्ता गठबन्धनमा राजतन्त्र चाहिन्छ भन्ने हरुले पनि राष्ट्रपतिलाई भोट हाल्न तयार हुनु केवल सत्तामोह भएको उनको ठहर छ । ‘संवैधानिक राजसंस्था ल्याउँछु भन्ने मान्छे राष्ट्रपतिलाई भोट हाल्न तयार छन् । यस कारण यहाँ कुनै प्रणालीले काम गरेको छैन आफ्नो अनुकूल काम भइरहेको छ,’ उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्