Logo

दोहोरो पासपोर्टवालालाई फेरि गृहमन्त्री दिनु हास्यास्पद हुन्छः कांग्रेस नेता



काठमाडौं, १७ माघ । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले राष्ट्रपतिमा सकेसम्म आफ्नै दलबाट बनाउने र त्यो नभए साझा चरित्रको उम्मेदवारलाई समर्थन गरेर अघि बढ्न सक्ने बताएका छन् ।
‘संसद्मा बढी सिट भएको जिम्मेवार पार्टी हो कांग्रेस । तर एउटै पार्टीबाट राष्ट्रपति निर्वाचित हुने सम्भावना नभएकाले माओवादी केन्द्र लगायतका दलहरुसँग छलफल गरेर अघि बढ्छौं । सकेसम्म आफ्नो दलको भइदिए हुन्थ्यो भन्ने हो । अहिलेसम्म त्यही दाबी छ । त्यो सम्भव नदेखिए साझा चरित्रको उम्मेदवारलाई समर्थन गर्न पनि सक्छौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने ।
कांग्रेस नेता विश्वकर्माले रवि लामिछानेलाई स्वार्थ बाझिने मन्त्रालयमा फेरि पुर्‍याउन नहुने औंल्याए । उनले भने, ‘यो मन्त्रिपरिषद्को गठन नै हास्यास्पद ढंगबाट भयो । म्यानपावरवाला श्रममन्त्री, ठेकेदार सहरी विकास मन्त्री, दोहोरो पासपोर्टवाला गृहमन्त्री भए । हतारोमा जे भयो, भयो, अब फुर्सदमा नहोस् भन्ने हामी चाहन्छौं । रविजी नागरिक भएको दुईतीन दिन भयो । गृहमन्त्रालयमा छानबिन भइरहेको व्यक्तिलाई थपक्क सही गरेर नागरिकता र पासपोर्ट दिन मिल्छ ? छानबिन भइरहेको विषयमा लापरबाही गर्न मिल्छ ? मीन विश्वकर्मा भएको भए यति फटाफट काम हुन्थ्यो ? यसमा भाँडाकुटी खेलेजस्तो गर्नु स्वाभाविक हुँदैन ।’
राष्ट्रपतिको निर्वाचनका कारण पार्टीको केन्द्रीय समितिको बैठक पटकपटक सरेको पनि उनले बताए । विश्वकर्माले भने, ;एक महिनापछि राष्ट्रपतिको चुनाव हुन्छ । संसद् सुरु हुन लागेको छ । पार्टीका धेरै केन्द्रीय सदस्य सांसद हुनुहुन्छ । बैठक लम्बिएकाले भनेर सरेको हो । राष्ट्रपतिको चुनाव सकिएको दुईतीन दिनभित्र बैठक बस्छ ।’



प्रतिक्रिया दिनुहोस्