Logo

ओलीले जबर्जस्ती गरेपछि प्रचण्ड मुख अमिलो बनाउँदै रवि लामिछानेलाई गृहमन्त्री बनाउन बाध्य हुनुभोः माओवादी नेता



काठमाडौं, १७ माघ । नेकपा (माओवादी केन्द्र) का सचिव दिनानाथ शर्माले संविधान र लोकतन्त्रको मर्मलाई बुझेको व्यक्तिलाई राष्ट्रपति बनाउने राष्ट्रिय सहमति गर्न गरी सम्पूर्ण दलहरुसँग छलफल चलाउने बताएका छन् ।
‘हाम्रो पार्टीको स्थायी कमिटीले यसबारे मोटामोटी निर्णय गरिसकेको छ । राष्ट्रपतिमा संविधान र लोकतन्त्रमाथि भोलि अन्यथा नगर्ने असल, योग्य र सक्षम व्यक्ति चाहिन्छ । विगतमा राष्ट्रपतिको भूमिका सबै नेपालीले देखेकै छन् । आग्रह र पूर्वाग्रहबाट अलिकति माथि उठेर राष्ट्रिय सहमतिको वातावरण बनाउन हामी छलफल चलाउँछौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै शर्माले भने ।
नयाँ राष्ट्रपति कांग्रेस, एमाले वा जुनसुकै पार्टीबाट हुन सक्ने उनले औंल्याए । शर्माले थपे, ‘जनता कसैलाई निषेध र होचोअर्घेलो गरेर भन्दा पनि समृद्धि र राष्ट्रिय एकता हुने गरी दलहरु एकढिक्का भएको हेर्न चाहन्छन् । यो आम जनताको पनि चाहना हो । परिस्थितिको माग पनि हो । त्यस्तो व्यक्ति एमाले, कांग्रेस वा अरु पार्टीमा पनि हुन सक्छन् ।’
उनले एमालेलाई मेरो गोरुको बाह्रै टक्का नभन्न पनि सुझाए । शर्माले भने, ‘राष्ट्रपति मेरो दलको हुनुपर्छ भनेर जानुभन्दा हाम्रो र राष्ट्रको हुनुपर्छ । हामी सहमतिको राष्ट्रपति बनाउँछौं । त्यो भनेको एमाले, कांग्रेस, मधेसवादी सबै दलको सहमति हो । त्यस्तो भएन भने के गर्ने भन्ने बारे अहिले सोच्नु आवश्यक छैन । पार्टीले परिस्थिति र पात्र अनुसार निर्णय गर्छ ।’
अर्को प्रसंगमा माओवादी नेता शर्माले रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउनुपर्छ भनेर केपी ओलीले समस्या सिर्जना गरेको आरोप पनि लगाए । उनले भने, ‘रविजीलाई गृह मन्त्रालय फापेन । अरु मन्त्रालय लिएको भए यस्तो हुँदैनथ्यो कि ? अब अदालतको निर्णय पालना गर्नुपर्‍यो । ओलीजी गृहमन्त्रालय रविलाई नै चाहिन्छ किन भनिरहनुभएको छ ? उहाँ समस्या सिर्जना गर्न सिपालु हुनुहुन्छ । रविजीलाई गृहमन्त्रालय नै किन चाहियो ? सीडीओ सरुवा गरिसक्नुभएको छ । क्रसर उद्योग बन्द गरेर सरुवा-बढुवा गर्न भ्याइसक्नुभएको छ ।’
ओलीले जबर्जस्ती गरेपछि अमिलो मुख बनाएर प्रचण्ड रवि लामिछानेलाई गृहमन्त्री बनाउन बाध्य भएको उनले बताए । शर्माले भने, ‘हामीले गृह र अर्थ मन्त्रालय प्रधानमन्त्रीसँग हुनुपर्छ भनेका थियौं । ओलीले जबर्जस्ती गरेपछि मुख अमिलो बनाउँदै प्रचण्डले रविजीलाई गृहमन्त्री बनाउनुभयो । त्यसबाट उपेन्द्र (यादव) जी, सीके राउत असन्तुष्ट हुनुहुन्छ । सत्ता साझेदार दल भनेको रविजी मात्र त होइन नि ।’ साथै उनले प्रचण्डकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेमा जोड दिए ।

 



प्रतिक्रिया दिनुहोस्