Logo

महँगियो आँटा, चामल



काठमाडौं, माघ १८। पछिल्लो चार महिनायता बजारमा चामल, मैदा, आँटाको मूल्य अत्यधिक बढेको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार कात्तिकयता आँटा प्रतिकेजी २५ रुपैयाँ र मैदा प्रतिकेजी २० रुपैयाँ बढेको छ । त्यसयता चामल पनि प्रतिकेजी १० रुपैयाँदेखि १८ रुपैयाँसम्म बढेको छ ।

सङ्घका अध्यक्ष पवित्र वज्राचार्यका अनुसार ठूला व्यापारीहरूले चामल, आँटा र मैदाको भाउ मनपरी तरिकाले वृद्धि गरेका छन् । “गहुँको त सिजन होइन, चामलको त अहिले सिजन हो नि, यसरी मूल्य बढ्दा सरकारका नियमनकारी निकाय कहाँ छन ?,” अध्यक्ष वज्राचार्यले प्रतिप्रश्न गरे । यस्ता निकायले खाध्यन्न आयातकर्ता, मिल तथा उद्योगहरूमा अनुगमन नगरी साना खुद्रा पसलमा सीमित हुँदा बजार भाउ नियन्त्रण बाहिर पुगेको उनको भनाइ छ ।

खुद्रा व्यापारी विनोद अधिकारीले पछिल्लो डेढ महिनामा चामल, आँटा, मैदा र चामलको भाउ अस्वाभाविक बढेकाले बिक्री गर्न नै समस्या भएको अनुभव सुनाए । खाद्यवस्तुको मूल्य बढ्दा आफूजस्ता साना तथा खुद्रा व्यापारी दोहोरो मारमा पर्नेगरेको गुनासो उनको छ ।

“ठूलो परिणाममा लिने पुँजी हुँदैन, थोरै थोरै किन्दा थोक व्यापारीले पटकैपिच्छे भाउ बढाउँछन्, यता उपभोक्ताले भाउ बढाइस् भनेर हामीलाई नै गाली गर्नुहुन्छ,” उनले भने ।

थोक व्यापारीको संस्था नेपाल किराना व्यवसायी सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठका अनुसार भारतबाट यसअघि धेरै मात्रामा नेपाल भित्रिने जिरा मसिनो चामलको मूल्य बोरामै चार सयदेखि ५०० रुपैैयाँ बढेको छ । यस्तै मैदा र आँटाको मूल्य पनि व्यापारीअनुसार बढेको छ ।

भारतबाट बङ्गलादेशमा चामल निर्यात बढेकाले भारतमै मूल्य बढेको र त्यसमा ढुवानी भाडामा भएको वृद्धिले थप महँगी निम्त्याएको श्रेष्ठको दाबी छ । यस्तै गहुँ आयातमा लागेको प्रतिबन्धका कारण मैदा र आँटाको मूल्य पनि बढेको उनको भनाइ छ ।

त्यसो त कृषि तथा पशुपन्छी विकास मन्त्रालयका तथ्याङ्कले भने यो वर्ष धान उत्पादन गत वर्षभन्दा सुधार भएको तथ्याङ्क सार्वजनिक गरेको छ । मन्त्रालयका अनुसार यो वर्ष देशभर ५४ लाख मेट्रिकटन धान उत्पादन भएको छ । जब कि नेपालको माग पूरा गर्न प्रत्येक वर्ष ६८ लाख मेट्रिकटन धान आवश्यक हुन्छ । धान उत्पादनको तथ्याङ्क हेर्दा नेपाललाई १४ लाख मेट्रिकटन मात्रै अपुग भए पनि भन्सार विभागको तथ्याङ्कले भने हरेक तीन महिनामा चार अर्बको चामल नेपालमा आयात भएको देखाएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्