Logo

पदाधिकारीविरुद्ध देउवा पक्षकै नेताको मेर्चाबन्दी



काठमाडौं, माघ १८। देशको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसभित्र आन्तरिक लोकतन्त्र खस्कँदै गएको भन्दै सभापति शेरबहादुर देउवा पक्षकै केन्द्रीय सदस्यहरू पार्टी पदाधिकारीविरुद्ध मोर्चाबन्दीमा उत्रिएका छन् । पार्टीको निर्णय प्रक्रियामा सभापति, पदाधिकारी र केन्द्रीय कार्यसम्पादन समितिले केन्द्रीय समितिलाई भूमिकाविहीन बनाएको भन्दै संस्थापन पक्षका केन्द्रीय सदस्यहरू नै मोर्चाबन्दीमा उत्रिएका हुन् ।

विगत सात महिनादेखि पटकपटक सरेको केन्द्रीय कार्यसमितिको बैठक अनिश्चितकालीन बनेको छ । देशको पछिल्लो राजनीतिक घटनाक्रमका सन्दर्भमा ठोस निर्णय लिन नसकेको कांग्रेस नेतृत्वप्रति केन्द्रीय समितिकै नेताहरू सन्तुष्ट छैनन् ।

सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका कारण चुनावी तालमेल गरेको पाँच दलीय गठबन्धन उनकै कारण भत्किएको र पार्टीले राज्यशक्तिका सबै निकाय गुमाउन पुगेको भन्दै संस्थापनइतर समूहले नेतृत्वको आलोचना गरिरहेको छ । यही अवस्थामा मंगलबार संस्थापन पक्षकै केन्द्रीय सदस्यहरूको छुट्टै भेला गरेर देउवालाई दबाब बढाएका छन् । सभापति देउवा पक्षका करिब दुई दर्जन केन्द्रीय सदस्यहरूले दोस्रोपटक अलग्गै भेला गरेका हुन् ।

केन्द्रीय सदस्य मीन विश्वकर्मा, नैनसिंह महर, पुष्पा भुसाललगायतले गरेको भेलामा सहभागी नेताहरूले पार्टी सभापति देउवा, पदाधिकारी र कार्यसम्पादन समितिको कब्जामा परेको गुनासो गरेका छन् । स्थानीय, प्रदेश र सङ्घीय तीनै तहको निर्वाचन सकिएर सरकार गठनका प्रक्रियाहरू सकिँदा समेत केन्द्रीय समितिको बैठक बोलाएर समीक्षा समेत नगरिएको आक्रोश छ ।

‘सभापति देउवा सरकारमा हुँदा र सत्ताको चाबी खोसिँदासमेत तीनवटा निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा समीक्षा हुन सकेको छैन’, भेलामा सहभागी केन्द्रीय सदस्य नैनसिंह महरले भने, ‘राष्ट्रिय राजनीतिका सवालमा केन्द्रीय कार्यसमितिमा छलफल गराउनुपर्नेमा पार्टीभित्र पदाधिकारीहरूले मात्रै निर्णय गर्ने तर, काम नलाग्ने निर्णय गरेर पार्टीलाई अझ कमजोर बनाउँदै लगिएको छ । यसलाई सच्याउनुपर्छ भनेर हामीले दबाब दिएका हौं ।’

सभापति देउवा, पदाधिकारी र शीर्ष नेताहरूले केन्द्रीय समितिलाई बाइपास गरेको भन्दै संस्थापन पक्षकै केन्द्रीय सदस्यहरू मोर्चाबन्दी गरेरै विरोधमा उत्रिनुपरेको उनीहरूको भनाइ छ । कांग्रेसले स्थानीय तहको निर्वाचनपछि गत असार २७ देखि साउन २ गतेसम्म केन्द्रीय कार्यसमितिको बैठक गरेको थियो । त्यसयता अहिलेसम्म बैठक बस्न सकेको छैन । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि त्यसबारे समीक्षा गर्न सभापति देउवाले बोलाएको बैठक तीन पटक स्थगित भइसकेको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्