Logo

विद्युतीय कारोबारको सीमा बढ्यो



काठमाडौं, माघ १८। विद्युतीय कारोबारमा जोड दिँदै आएको नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, क्यूआर कोडलगायतका विद्युतीय भुक्तानीबाट हुने कारोबारको सीमालाई बढाएको छ । राष्ट्र बैंकले मंगलबार ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९’ जारी गर्दै उक्त सीमा बढाएको हो ।

राष्ट्र बैंकले मोबाइल बैंकिङ (क्यूआर कोडसमेत) बाट प्रतिदिन ३ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने व्यवस्था गरेको छ । यसअघि प्रतिदिन २ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने व्यवस्था थियो ।

त्यस्तै, बैंक खाताबाट वालेटमा प्रतिदिन २ लाख रुपैयाँसम्म रकम पठाउन सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसअघि प्रतिदिन ५० हजार रुपैयाँसम्म रकमान्तर गर्न सकिने व्यवस्था रहेको थियो । साथै, वालेटबाट बैंकको खातामा पनि प्रतिदिन २ लाख रुपैयाँसम्म पठाउन सकिने भएको छ । यसअघि प्रतिदिन १ लाख रुपैयाँ मात्रै पठाउन सकिन्थ्यो । प्रतिमहिना १० लाख रुपैयाँसम्म गर्न सकिने कारोबारको सीमा भने यथावत रहेको छ ।

राष्ट्र बैंकले एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्ने सीमालाई भने घटाएर प्रतिदिन ५० हजार रुपैयाँसम्म पठाउने सकिने व्यवस्था गरेको छ । यसअघि एकदिनमा १ लाख रुपैयाँसम्म पठाउन सकिने व्यवस्था थियो । तर, प्रतिमहिना गर्न सकिने कारोबारको सीमा भने यथावत रहेको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।



प्रतिक्रिया दिनुहोस्