Logo

रबि लामिछाने प्रचण्ड र ओलीको झोले बने– स्वागत नेपाल (भिडियोसहित)



काठमाडौं, १८ माघ । अधिवक्ता स्वागत नेपालले रबि लामिछाने विदेशी एजेण्ट भएको टिप्पणी गरेका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले रबि नेपालको सबै सूचनाको स्रोत भएको ठाउँमा जासुसी गर्नका लागि पुगेको आरोप लगाएका हुन् । ‘रबि लामिछानेको विरुद्धमा म होइन, विदेशी एजेण्ट जो नेपाली नागरिक थिएनन् नेपालको गृहमन्त्री बने । जहाँ नेपालको सबै सूचनाको स्रोत हुन्छ, त्यो ठाउँमा जासुसी गर्न उनी आएका थिए । यसको विरुद्धमा कोही मान्छे बोल्दैन भने त्यो नेपाली नै होइन । किनभने उहाँले मन्त्री पद खुस्केपछि विदेशी राहदानी लगेर आफ्नै हातले बुझाउनु भएको हो नि । त्यतिन्जेलसम्म उहाँ विदेशी हुनुहुन्थ्यो,’ उनले भने ।

साथै, रबिले देश र जनतालाई ढाँटेको अधिवक्ता नेपालको अर्को आरोप छ । उनीबाट सीडियोसमेत प्रभावित भएर नागरिकताको छानविन तुरुन्त गर्न नपर्ने भनेर अदालतलाई पत्र लेखेको उनको दाबी छ । रबि लामिछानेसँग ब्यक्तिगतरुपमा अत्यन्तै राम्रो सम्बन्ध रहेको बताउँदै उनले कसैले देश र जनताको विरुद्धमा काम गरेमा कसैलाई छाड्न नहुने बताए । रबिले मन्त्री बनेपछि राज्यकोषको डकैतिको संस्थागत सुरुवात गरेको उनको आरोप छ ।

‘रबिले मन्त्री बनेपछि सबै भन्दा ठूलो राज्यकोषको डकैतीको संस्थागत सुरुवात गर्नुभयो । सांसदको नाममा तपाईँ र मैले तिरेको करको रकमबाट खडा भएको राज्यकोषबाट सांसदको तलब भत्ता भनेर पार्टीको नाममा पैसा हाल्ने व्यवस्था गर्नुभयो । निर्णय गर्नुभएको छ । सांसदको तलब भत्ता भनेर राज्यकोषको रकम पुरै चोरी गरेर, यसलाई राजनीतिक शास्त्रमा क्लेप्टोक्रेसी भनिन्छ । राज्यकोष चोरी गर्ने नै हो यो,’ उनले भने ।

साथै, रबिबाट नेपाली युवालाई विदेशमा बेच्ने निर्णय भएको उनको आरोप छ । उनी लगायत जनयुद्ध लडेर आएका दलहरुको पहिलो निर्णय नै छिटो छरितो राहदानी उपलब्ध गराएर विदेश बेच्ने काम भएको उनको टिप्पणी छ । देशैभरी नो नट अगेन प्रचण्ड, नो नट अगेन ओली भनेर निर्वाचनको बेलामा आफूहरु लागि परेपनि रबिले वान्स अगेन प्रचण्ड, वान्स अगेन ओली भनेको उनले बताए । रबिले आफ्नो कार्यक्रममा झोले भनेर गाली गरेको केपी र प्रचण्डको उनी आफैं झोले बनेको उनको टिप्पणी छ । रबिले युवाको सपनाको व्यापार र सपनाको अपहरण गरेको उनको दाबी छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्