Logo

प्रचण्ड केपी ओलीको पनि नेता होः माओवादी नेता



काठमाडौं, १८ माघ । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद माधव सापकोटाले रवि लामिछानेले फेरि गृहमन्त्री हुन हतार गर्न नहुने औंल्याएका छन् ।
‘सर्वोच्च अदालतको फैसलाको अन्तिम र पूर्णपाठ अनि जनताको प्रतिक्रिया हेरेर थप कुरा भन्न सकिन्छ । रवि लामिछानेका निम्ति हिजोको जस्तो परिस्थिति छैन । उहाँ अहिले सांसद होइन, आम नागरिक मात्र हुनुहुन्छ । उपनिर्वाचन होला । गृहमन्त्री हुन यति हतारो गर्नुपर्ने कारण छैन । गृह मन्त्रालयमा उहाँका बारेमा अझै छानबिन टुंगिएको छैन । त्यसैले उहाँले धैर्य गरेर सरकारलाई बलियो र सफल बनाउनुपर्छ । तत्काल सत्ताका लागि कुद्ने कुराले कसैलाई राम्रो गर्दैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सापकोटाले भने । गृह मन्त्रालय नभए सरकारमा रहन्नौं भन्ने शैलीको कुरा नगर्न पनि उनले आग्रह गरे ।
सापकोटाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन दबाब दिन नमिल्ने पनि बताए । उनले थपे, ‘अहिले प्रचण्ड हामी सबैको नेता हो । सबैले हस्ताक्षर गरेर दिएकाले प्रधानमन्त्री बन्नुभएको हो । केपी ओलीको नेता पनि प्रचण्ड नै हो । त्यसैले प्रचण्डमा मूल नेतृत्वको केन्द्रीकरण हुनुपर्छ । धेरै शक्तिकेन्द्र बनाउनु हँदैन । यो नै राष्ट्रका लागि फाइदाजनक हुन्छ ।’
तत्काल कसैलाई गृहमन्त्री बनाउनुभन्दा प्रधानमन्त्रीले नै राख्नु उचित हुने सापकोटाले औंल्याए । उनले भने, ‘देशभरिका हाम्रा नेता, कार्यकर्ताको आवाज नेतृत्वले सुन्नुपर्छ । अर्थ वा गृह मन्त्रालयमध्ये एउटा प्रधानमन्त्रीले राख्ने गठबन्धन सरकारको नजिर हो । दुवैबाट वञ्चित हुँदा सारा सूचनाविमुख र स्रोतसाधनविहीन बनाउने काम भएको छ । प्रधानमन्त्रीलाई बिचरा बनाउने काम भयो । यो स्वाभाविक प्रकृतिको छैन ।’
माओवादी केन्द्र गठबन्धन तोड्ने पक्षमा नरहेको बरु यसलाई जोगाएर राष्ट्रिय सहमति गर्ने पक्षमा रहेको पनि उनले बताए । सापकोटाले भने, ‘हामीले गठबन्धन तल-वितल गर्ने सोचेका छैनौं । हामी रविजीहरुको पक्षमा छौं, रविजी हाम्रो पक्षमा हुनुहुन्छ । सबै दल एकै ठाउँमा हुने स्थितिमा मात्र आजका चुनौती सामना गर्न सकिन्छ । प्रधानमन्त्रीले विश्वासको मत लिएपछि राष्ट्रिय सहमतिको आधार बनेको छ । सहमति नै अबको सर्वोत्तम विकल्प हो ।’



प्रतिक्रिया दिनुहोस्