Logo

रविलाई गृहमन्त्री बनाए त्यसको भागिदार प्रचण्ड पनि हुनुपर्छः भीम रावल



काठमाडौं, १८ माघ । नेकपा एमालेका नेता एवं पूर्व गृहमन्त्री भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टी र रवि लामिछानेहरुले दिएको सुशासनको नारा र अवस्था परिवर्तनको भाषण चटके र नक्कली साबित भएको आरोप लगाएका छन् ।
‘दुई देशको नागरिकता र राहदानी लिएका मानिस आज पनि कारागारमा छन् । तर रविजीले अरुलाई अर्ती उपदेश दिएर, चर्का कुरा गरेर सत्ता हत्याउनुभयो । संविधान बनाउँदा हामीले दोहोरो नागरिकताको प्रावधान राख्नुहुन्न भनेर पहल गरेका थियौं । रविजीले त्यसमा प्वाल पार्ने प्रयास गर्नुभयो । जनतालाई एकछिन अलमल्याउन सकिन्छ, तर सधैं भ्रममा राख्न सकिँदैन । रविजीहरुको चर्का चर्का र मीठा मीठा कुराको गर्भमा के कुरा लुकेको रहेछ भन्ने कुरा चितवन २ का मतदाताले अब बुझ्नुपर्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै रावलले भने ।
रवि लामिछानेको उम्मेदवारीमा निर्वाचन आयोगले जानीबुझी आँखा चिम्लेको आरोप पनि उनले लगाए । उनले थपे, ‘यसमा आयोगका केही मानिस संलग्न भएका देखिन्छन् । प्रमुख जिल्ला अधिकारी र गृह मन्त्रालय कानुन बमोजिम चल्नुपर्छ कि पर्दैन रु उहाँ मन्त्री हुँदा क्रसर उद्योग अवैध हुन् भनेर बन्द गरियो, १० दिनमा पर्यावरणमा के सुधार भयो र खोलियो ? यसको गहिरो र निष्पक्ष छानबिन हुनुपर्छ ।’
गृहजस्तो संवेदनशील मन्त्रालय सम्हाल्ने व्यक्ति अमेरिकाको नागरिक हुन पुग्नु रहस्यमय छ र षडयन्त्रपूर्ण रहेको पनि रावलले बताए । उनले भने, ‘नेपाल सरकारका निकायले माग गर्दा पनि अमेरिकाले नागरिकता समाप्त भएको सूचना नदिएको कुरा आएको छ । कसैले पनि नेपालको संविधान र कानुन मिच्न पाइँदैन । यो नेपालको राष्ट्रिय सुरक्षा कमजोर पार्ने खेल हो ।’
जसरी पनि गृह मन्त्रालयमा जानुपर्छ भनेर लाग्नुले राष्ट्रिय सुरक्षामा चुनौती थपिएको उनले औंल्याए । रावलले भने, ‘रवि लामिछाने जसरी पदका लागि कुदिरहनुभएको छ, यो भनेको त कानुनविपरीतका कामबाट मुक्त हुने, अपराधलाई ढाकछोप गर्ने कुरा हो । यो भनेको राष्ट्रिय सुरक्षामा चुनौती हो । यति कुरा नबुझे प्रधानमन्त्री प्रचण्ड पनि त्यसको भागिदार हुनुपर्छ । यसले नेपाल राज्य नै होइन भन्ने देखिन्छ ।’

 



प्रतिक्रिया दिनुहोस्