Logo

सरकारसँग गगनको प्रश्न– बैंकको ऋणले थिचिएका किसानले अप्रिय निर्णय नगरेसम्म कुर्ने हो ?



काठमाडौं, १८ माघ । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभाका सांसद गगनकुमार थापाले सरकारले किसानलाई क्षतिपूर्ति बापत दिनुपर्ने रकम नदिएको भन्दै आपत्ति जनाएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद थापाले बर्डफ्लू न्यूनीकरणका लागि सरकारले किसानहरुको कुखुरा फर्म नष्ट गर्दा दिनुपर्ने निर्णय गरेको ५८ करोड नदिएको भन्दै आपत्ति जनाएका हुन् ।

अहिले ती किसानहरु मन्त्रालय धाइरहेको र सरकारले केवल आश्वासनको भरमा टारिरहेको उनको आरोप छ । ‘सयौंका संख्यामा साना किसानहरु कृषि मन्त्रालय धाइरहेका छन् । यी तिनै किसान हुन् जसले बैकबाट ऋण लिएर साना–साना कुखुरा फार्म चलाएका छन् । बर्डफलूको जोखिम न्यूनीकरणका लागि सरकारको निर्णयबाट तिनीहरुको कुखुरा फार्म नष्ट गरियो । नियमअनुसार किसानले पाउने क्षतिपूर्ति ५८ करोड छ । सरकार दिन्न भन्दै तर दिँदैन झुलाउँछ । किन कि सरकारलाई भ्याइनभ्याई छ । बैंकले उनीहरुलाई अठ्याउँछ । मेरो सरकारलाई प्रश्न छ, बैंकको ऋणले थिचिएका साना किसानले कुनै अप्रिय निर्णय नगर्ने बेलासम्म कुर्ने हो ?’ उनले संसद्मा प्रश्न गरे ।



प्रतिक्रिया दिनुहोस्