Logo

प्रेमप्रसादको आत्मदाहले हामी जनप्रतिनिधि हौं भन्न लज्जाबोध भएको छ– राजकिशोर यादव



काठमाडौं, १८ माघ । जनता समाजवादी पार्टी (जसपा) का सांसद राजकिशोर यादवले प्रेमप्रसाद आचार्यको आत्मदाहले आफूलाई जनप्रतिनिधि हुँ भन्न पनि लज्जाबोध भएको बताएका छन् । आज(बुधबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादवले नेपाली युवाले गरिखान पाइन भनी सांसद भवन अगाडि आत्मदाह गर्दा पनि सांसदमा कसैलाई चासो नभएको भन्दै आपत्ति जनाएका हुन् ।

प्रेमप्रसाद आचार्यको आत्मदाह घटनालाई स्मरण गर्दै सांसद यादवले भने– ‘जुन घटना भयो त्यो घटनाको बारेमा सोच्दापनि हामी जनप्रनिधि हौं भन्न लज्जाबोध भएको छ । आज हामी यो संसदमा बहस गरिरहेका छौं । तर यही सदनको अगाडि एकजना नेपाली युवाले म यो देशमा गरिखान पाइन भनेर आत्मदाह गर्छ । आज यो सदनभित्र मलाई लाग्थ्यो एउटा विशेष प्रस्ताव आउला, के कति कारणले प्रेम आचार्यले आत्मदाह गर्न बाध्य भए त्यसको बारेमा चर्चा होला । तर, आज यो सदन मुर्दाको रुपमा स्थापित भएको छ । प्रेम आचार्यको बारेमा कसैलाई चिन्ता भएन ।’

 



प्रतिक्रिया दिनुहोस्