Logo

संसद्मा गर्जिए प्रभु साह : कालोबजारीयाहरुले मार्केट खाए, राज्य के हेरेर बसिरहेको छ (भिडिओसहित)



काठमाडौं, १८ माघ । आम जनता पार्टीका अध्यक्ष एवम् स्वतन्त्र सांसद प्रभु साहले मुलुकमा विचौलियाहरु हाबी भएको भन्दै यसलाई नियन्त्रण गर्न राज्य संयन्त्र सक्रिय हुनुपर्ने आवाज उठाएका छन् । उनले उत्पादन गर्ने कृषकहरु मारमा पर्ने गरेको तर दुई÷चार दिनको बुद्धि खियाउने विचौलियाहरु भने रातरात धनी हुने गरेको भन्दै यसतर्फ राज्यको ध्यान जानुपर्नेमा जोड दिए ।

आज (बुधबार) प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद साहले भने–‘देशमा महँगीको नियन्त्रण हुन्छ कि हुँदैन् ? देशमा कालोबजारीयाहरु दण्डित हुन्छन् कि हुँदैनन् ? यो कुरा आज जनताले जान्न चाहन्छन् ।अहिले महँगी आकाशिएको छ । नेपाली जनताको जनजीवन कष्टकर बन्दै गएको छ । दिनदिनै महँगीको कारण उपभोक्ताहरु महँगीको मारमा परेका छन् । आम जनताहरु महँगीले बर्बाद हुनुपर्ने अनि मुठ्ठीभर मानिसहरु मालामाल हुनुपर्ने ? यो स्थिति छ, त्यसको अन्त्य हुन्छ कि हुँदैन ? त्यो कुरा जनताले जान्न चाहेका छन् ।’

उनले अहिले नेपालमा उत्पादनकर्ताहरुले जुन नाफा पाउनुपर्ने हो त्यो नपाएको र विचौलिया र ठगहरु भने मालामाल भैरहेको टिप्पणी गरे । उनले थपे–हामी गाउँमा हेर्छौं, मान्छेले २० रुपैयाँ केजी भान्टा बेच्छ, अनि काठमाडौं आईपुग्दा त्यो ५० देखि ६० रुपैयाँ पुग्छ । अहिले पुँजी नै नभएका र मेहनत नगरेकाहरु रातारात धनी भैरहेका छन् । नेपालको कानूनले भन्छ कि कुनैपनि वस्तुको लागतभन्दा २० प्रतिभन्दा बढि नाफा लिनै पाउँदैन् । एउटा किसानले १५ देखि २० रुपैयाँमा बेचेको सामान यहाँ कसरी ५० देखि ६० मा बेच्छन् ।’ साहले नेपालमा अहिले कालोबजारीयाहरुले टाउको उठाएर हिँडेको र उनीहरुनै सम्मानित भएको भन्दै सरकारको ध्यानाकार्षण गराएका छ्न ।



प्रतिक्रिया दिनुहोस्